देश र जनताका लागि आफ्नो प्राणको आहुति दिने वीर सहिदहरुको सम्झनामा यसपटक पनि मुलुकमा सप्ताहव्यापी कार्यक्रमहरु सम्पन्न गरिएको छ । सहिद सप्ताह भर्खरै सकिएको छ । यस सँगै सहिदहरुको सम्झनामा आयोजित औपचारिक र अनौपचारिक कार्यक्रमहरु पनि समापन भएका छन् । सहिदको सम्झनामा आयोजित समारोहहरुलाई सम्बोधन गर्दै सत्ता संचालक राजनैतिक पाटीका नेताहरुले फेरि एकपटक सहिदका अधूरा सपना पूरा गर्ने ओठे प्रतिबद्धता पनि जाहेर गरेका छन् । तर उनीहरुका ती प्रतिबद्धताहरु फगत ँदेखाउने दाँत; मात्र हुन भन्ने कुरा उनीहरुको व्यवहारले प्रष्ट पार्दै लगेको छ ।
देशका प्रमुख पार्टीहरु सत्ताकेन्द्रित राजनीतिमा रुमल्लिंदा सहिद सप्ताह पनि औपचारिकतामा मात्र सीमित रहन पुगेको छ । जुन सुखी र सम्बृद्ध समाज निर्माणका लागि सहिदहरुले यो भूमिलाई आफ्नो रगतले िसंचित गरेका थिए आज त्यो समाज क्षितिजपारीको विषय बनिरहेको छ । सहिदहरुको बलिदानीका बलमा स्थापित राजनैतिक उपलब्धीहरुलाई रक्षा गर्न मात्र पनि सत्ता संचालक राजनैतिक नेतृत्व असफल बन्दै गैरहेको छ ।
आज मुलुक जुन दुरावस्थामा पुगेको छ-यो दिनको लागि सहिदहरुले बलिदानी दिएका थिएनन् । सहिदको रगतमा टेकेर सत्तामा पुगेका र सत्ताको वरपर घुमिरहेकाहरुले आज सहिदको बलिदानीलाई बिस्रंदै गैरहेका छन् । सत्ताको रसस्वादनमा रमाउँदै उनीहरुले सहिदहरुको अवमूल्यन र अपमान गरिरहेका छन् । सहिद जस्तो उच्च मर्यादित र सम्मानित पदवी अरु हुन सक्दैन । तर सत्ता संचालक राजनैतिक दलहरुले यो पदवीको गरिमालाई हल्का र सस्तो पार्दै लगिरहेका छन् । सडक दुर्घटनामा मृत्यु भए पनि अपराधिक कि्रयाकलापमा संलग्न रहँदा मृत्यु भए पनि पार्टीको झोला बोकेकै आधारमा उसलाई सहिदमा सूचिकृत गर्ने अत्यन्तै गलत परम्पराको थालनी गरिएको छ । सहिदको परिभाषा र मापदण्डलाई कुल्चँदै आफूखुशी मनगढन्ते तरिकाबाट ँसहिद घोषणा गर्ने यस प्रवृत्तिले वास्तवमा सच्चा सहिदहरुको घोर अपमान भएको छ ।
सहिद सप्ताह विशेष गरेर वि।सं। १९९७ मा राणाशाहीका विरुद्धमा लड्दा सहिद भएका वीर योद्धाहरु गंगालाल श्रेष्ठ दशरथ चन्द शुक्रराज ास्त्री र धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको समय माघको दोस्रो सातालाई आधार मानेर आयोजना गर्दै आइएको छ ।नेपालको प्रजातान्त्रिक तथा जनतान्त्रिक आन्दोलनमा वि।सं। १९९७ यता धेरै सहिद भएका छन् । देशले रगत मागेका बेला जसले आफूलाई हाँसीहाँसी बलि चढाए नाता कुटुम्ब र परिवारको स्वार्थलाई एकातर्फ लत्याउँदै जसले आफ्नो शरिरलाई निस्वार्थ जनताको नाममा समर्पण गरे ती सबै यो राष्ट्रका सहिद हुन् । सहिद कुनै पार्टी विशेषको मात्र हुँदैन । ऊ सम्पूर्ण जनताको हुन्छ समग्र देशको हुन्छ । जसले देश र जनताको स्वार्थलाई केन्द्रमा राखेर अघि बढेको हुन्छ ऊ मरेर पनि बाँचिरहेको हुन्छ । जो व्यक्ति नीजि स्वार्थमा मात्र तल्लीन रहन्छ ऊ वास्तवमा बाँचेर पनि मरिरहेको हुन्छ । अहिले पनि हाम्रो समाजमा ज्यूँदा लाशहरुको बाहुल्यता छ ।
समाज मात्र होइन हाम्रो देशको सत्ता पनि ज्यूँदा लासहरुको हातमा खेलौना बनिरहेको छ । ती ज्यूँदा लासहरुबाट सहिदहरुको सम्मानको आसा कति नै गर्न सकिन्छ र सहिद दिवशका अवसरमा आयोजित औपचारिक कार्यक्रमहरुमा प्रमुख राजनैतिक दलका नेताहरुले सहिदहरुको सपना पूरा गर्न सहमतीय राजनीतिलाई अगाडि बढाउने प्रण त गरे तर व्यवहार उनीहरुले ठीक त्यसको उल्टो गरिरहेका छन् । नेपालको इतिहासमा यस तथ्यलाई विडम्बना नै मान्नु पर्दछ कि २००७ सालदेखि यता भएका हरेक राजनैतिक आन्दोलनहरुबाट प्राप्त उपलब्धीहरुलाई व्यवस्थापन गर्न नसक्दा ती फेरि गुम्ने गरेका छन् । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरु पटक-पटक गुम्ने गरेका छन् । यो सबै आन्दोलनपश्चात् सत्ताको साँचो हातमा लिने राजनैतिक नेतृत्वले सहिदहरुको योगदानलाई भूली सत्ताकेन्द्रित राजनीतिमा अल्झिँदाका परिणाम हुन् ।
देश अहिले संक्रमणकालीन अवस्थामा छ । ०६२,६३ को जनआन्देालनका उपलब्धीहरु अझै संस्थागत भैसकेका छैनन् । नयाँ संविधान लेखन कार्य धरापमा पर्दै गैरहेको छ । वैदेशिक हस्तक्षेप बढिरहेको छ । देशको राष्ट्रियता संकटमा पर्दै गैरहेको छ । तर राजनैतिक नेतृत्व भने यो विकराल परिस्थिति प्रति पटक्कै गम्भीर देखिएको छैन । उनीहरु सरकार गठनको अंकगणितीय खेलमा व्यस्त रहेका छन् । प्रमुख राजनैतिक दलका नेताहरुको रवैया यस्तै रह्यो भने देश फेरि प्रतिगमनतर्फ फर्किने सम्भावना बढ्दै गैरहेको छ ।
देशको परिस्थितिले ०६२,६३ का आन्दोलनकारी शक्तिहरुको सहकार्यको माग गरिरहेको छ । आन्दोलनकारी सहयात्रीहरुको एकता बलियो भएमा मात्र हामीले जनआन्दोलनका उपलब्धीहरुलाई संस्थागत गर्न सक्ने छौं प्रतिगामी शक्तिहरुका षडयन्त्रहरुलाई परास्त गर्न सक्ने छौं र सहिदका सपना साकार पार्न सक्ने छौं । केवल ओठले प्रतिबद्धता जनाउने र सालिकमाथि पुष्पमाला चढाउने कार्यले मात्र सहिदहरुका सपना पूरा हुने छैनन् । सहिदका अधुरा सपनाहरुलाई पुरा गर्नको निम्ति जनपंक्तिबाट सत्तासिनहरुलाई विशेष दवाव दिनु पर्ने स्थिति सिर्जना भएको छ । भर्खरै सम्पन्न सहिद दिवसले पनि हामीलाई त्यही सन्देश दिएको छ । हामीले त्यसरी दवाव दियौं भने मात्र दलहरु सच्चिन सक्नेछन् । सहिद दिवसका अवसरमा प्रमुख राजनैतिक दलहरुले जनाएको प्रतिबद्धतालाई अब उनीहरुले पनि व्यवहारमै कार्यान्वयन गरेर देखाउनु पर्दछ । कुरा सहमतिको गर्ने तर केन्द्रमा आफूलाइ राखिरहने प्रवृत्तिलाई त्याग्दै जनआन्दोलनकारी शक्तिहरु हातेमालो गरेर अगाडि बढी शान्ति र संविधानको तत्कालिन अभिभारा पूरा गर्न सकेमा मात्र सहिदलाई साँचो अर्थमा सम्झिएको ठहरिने छ ।