काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ८७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलवार एक कार्यक्रम आयोजना गरी कार्यालयले गत वर्षको तुलनामा यो वर्ष २ प्रतिशतले आर्थिक वृद्धिदर बढ्ने अनुमान गरेको हो ।गत वर्ष नेपालको आर्थिक वृद्धिदर जम्मा १ दशमलव ८६ प्रतिशत थियो ।
‘२०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ८७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ,’ तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले भने ।
उनका अनुसार अहिले तयार पारिएको तथ्यांक गत तीन वर्षको आधारमा तयार पारिएको हो । पोखरेलले चालू आर्थिक वर्षमा मूल्यवृद्धि भने ३ दशमलव ५४ प्रतिशतमा खुम्चिने बताए ।
‘कृषि क्षेत्रमा ४ प्रतिशत, उद्योग क्षेत्रमा १ दशमलव २ प्रतिशत, सेवा क्षेत्रमा ४ दशमलव ५ प्रतिशत मूल्यवृद्धिदर देखिने हामीले प्रक्षेपण गरेका छौं,’ पोखरेलले भने ।
यस वर्ष कूल गाह्रस्थ उत्पादन भने ५७ खर्व ४ अर्ब हुने तथ्यांक कार्यालयको अनुमान छ ।- एनपि