काठमाडौं । संसदको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले डाकेको बैठक बिना निष्कर्ष टुंगिएको छ । सभामुख घिमिरेले आफ्नै कार्यकक्षमा कानुनमन्त्री, प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसंग छलफल गर्नुभएकोमा बैठक बिना निष्कर्ष टुंगिएको हो ।
सभामुख घिमिरेले आगामी मंगलबार सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने कार्यक्रम रहेकाले संसदको अवरोध खुलाउन बैठक गर्नुभएको हो । बैठकपछि काँग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुको अडानमा कुनै परिवर्तन नभएको भन्दै भोलि दिउँसोसम्ममा छानविन समिति बन्ने आश्वासन सरकारी पक्षबाट आएको बताउनुभयो ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने कांग्रेसले उठाएको विषय कानून सम्मत् नभएको दोहोर्याउनु भयो । काँग्रेसले आत्महत्या नै गर्छु भने पनि संसदीय छानविन समिति नबन्ने उहाँको जिकीर थियो ।
तर सहकारी ठगीमा संलग्नलाई कारबाही गर्न तथा बचतकर्ताको रकम फिर्ता गराउन एमाले तयार रहेको बर्तौलाको भनाइ थियो।