– शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँची जिल्लाको वाङ्ला गाविस वार्ड नं- ४ र ६ का कृषकहरु खाद्यान्न नहुँदा चिन्तित भएका छन् ।
सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक निर्माण गर्दा कुलो भत्किएर खेत खाली राख्नु पर्दा गाउँमा खाद्यान्नको अभाव भएको हो । कृषिमा निर्भर रहँदै आएका यहाँका करिब १ सय परिवारका बासिन्दाहरुले १० महिनादेखि आफ्नो खेत िसंचाइको अभावका कारण बाँझो राख्न बाध्य भएका छन् ।
खेतमा उत्पादित अनाजबाट खाद्यान्नका साथै परिवारको दैनिक खर्च जुटाउँदै आएका कृषकहरुलाई छोराछोरी पढाउन औषधि उपचार गर्न र लुगाफाटो जुटाउन त समस्या भयो नै बिहान साँझ समेत के खाने भन्ने चिन्ताले सताएको उनीहरुको भनाई छ ।
गएको बैशाख महिनामा सडक निर्माण गर्दा प्रयोग गरिएका भारी उपकरण स्काभेटर डोजर भ्याकुले पल्टाएका ढुङ्गाले बाँगीखोलाबाट लगिएका लामो दूरीका कुलोहरु भत्किएर क्षतविच्छेत भएपछि कृषकहरुको करिब ४ सय ७० रोपनी खेत बाँझै रहँदा कृषिमै निर्भर रहँदै आएका विपन्न परिवारका कृषकहरुको बिचल्ली भएको हो । सडक निर्माण गर्दा वाङ्ला ४ को हल्दे कुलो भत्किंदा खरिपाटादेखि हल्देसम्म १ सय ५० रोपनी खेत खरिपाटा कुलो भत्किंदा खरिपाटामा ५० रोपनी खेत र एउटा पानी मिल सात बिसे कुलो भत्किंदा सात बिसे फाँटको १ सय रोपनी खेत वाङ्ला ६ को क्रुर्लु कुलो भत्किंदा क्रुर्लुको १ सय रोपनी खेत र तीनथुप्रे कुलो भत्किंदा तीन थुप्रेको १ सय रोपनी खेत र सन्धिखर्क २ को हडाहा कुलो भत्किंदा हडाहाको २० रोपनी खेत बाँझै रहनुका साथै एउटा पानी मिल पनि बन्द भएको छ ।
सदरमुकाम सन्धिखर्कबाट नजिकै भएर पनि यातायातको अभावमा दुर्गम र विकट मानिएको यस ठाउँमा मोटर आउँदा हुरुक्कै भएका स्थानीय बासिन्दाहरु कुलो निर्माणमा सडक विभाग जिल्ला विकास समिति गाउँ विकास समिति सरकारलगायत कुनै पनि निकायले चासो नराख्दा चिन्तित भएका छन् । स्थानीय बासिन्दाहरुले पटक पटक सडक विभाग र जिल्ला विकास समितिमा आग्रह गर्दा पनि चासो नराखेको भन्दै आक्रोश प्रकट गरेका छन् । खाद्यान्न र तरकारी बिकि्रबाट छोराछोरीलाई शहरमा पढाउँदै आएका स्थानीयबासिन्दाहरु घर फर्काउन बाध्य भएको बताउँछन् ।
जिल्लामा जिल्ला परिषद्को बैठकको तयारीको लागि दलहरुबीच छलफल चलिरहँदा आफ्नो समस्याप्रति भने कुनै दलले चासो नदेखाएको उनीहरुको आरोप छ । स्थानीयबासिन्दाहरुले कुलो निर्माणको लागि सरकारले सहयोग नगरे कडा संघर्षमा उत्रिनुका साथै सडकसमेत अवरुद्ध पार्ने जनाएका छन् ।