सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने

काठमाडौं । सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताउनुभयो । उहाँले सरकारले घोषणा गर्दै आएको भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकार बीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने बताउनुभयो । उहाँले ३ लाख हेक्टर कृषियोग्य जमिनमा सिंचाई सुविधा पु¥याउनेदेखि राष्ट्रिय गौरवका सिंचाईं परियोजना निर्माणमा जोड दिने बताउनुभयो ।

राष्ट्रपति पौडेलले सरकारले मालपोत र नापीसम्बन्धी आधारभुत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाइने बताउनुभयो । उहाँले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्यांकन प्रणालीलाई वैज्ञानिक बनाउन कानुनी तथा संरचनागत सुधार गरिने समेत बताउनुभयो ।