रविको आरोप : एक पटक बोल्न पाउनु पर्‍यो भनेको हो, यति घिनलाग्दो मिडिया ट्रायल ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले एक पटक संसदमा बोल्न पाउनु पर्ने माग गरेका छन् ।

दलहरूबीच सहमति नजुटेर प्रतिनिधिसभा बैठक बस्न ढिलाइ भइरहेका बेला लामिछानेले सामाजिक सञ्जालमार्फत् यस्तो लेखेका हुन् । ‘एक पटक बोल्न पाउनु पर्‍यो । त्यत्ति हो मागेको । यति घिनलाग्दो मिडिया ट्रायल ?’ लामिछानेले लेखेका छन् । उनलाई बोल्न दिने विषयमा कांग्रेस सकारात्मक भए पनि सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउने विषयमा सहमति जुटिसकेको छैन । जसका कारण कांग्रेसले सदनमा अवरोध जारी राख्ने जनाएको छ । सहकारी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फेरि संसद् अवरुद्ध गर्ने संकेत गरेपछि गृहमन्त्री लामिछानेले यस्तो आरोप लगाएका हुन् ।

संसदमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने गरी नेपाली कांग्रेस तयार भएको विषय बाहिर आए पनि सहकारी प्रकरणमा गोलमटोल छानबिन समितिको कुरा आएको भन्दै कांग्रेसले फेरि संसद् अवरोध गर्ने निर्णय गरेको छ । लामिछानेले कांग्रेसको कदमलाई घिनलाग्दो मिडिया ट्रायलको संज्ञा दिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी प्रकरणमा छानबिन समिति गठन तयार तयार रहेको भन्दै संसदमा गृहमन्त्रीलाई बोल्न दिने बताएका थिए । तर यसलाई कांग्रेसले सकारात्मक भन्दै लामिछानेलाई बोल्न दिने प्रतिक्रिया दिएको थियो । तर टालटुले समिति गठन गर्न खोजिएको भन्दै कांग्रेसले संसद् बैठक अवरुद्ध गर्ने बताएको हो । दलबीच सहमति जुटाउने प्रयास स्वरुप बिहीबार ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक अपरान्ह ४ बजेसम्मलाई सारिएको थियो ।

r