प्रतिनिधि सभाकाे आजकाे बैठकमा कांग्रेस–एमाले सांसदबीच धकेलाधकेल

काठमाण्डाै – प्रतिनिधि सभाकाे आजकाे बैठकमा नेपाली कांग्रेस र नेकपा एमाले सांसदबीच धकेलाधकेल भएकाे छ । झन्डै दुई घण्टा ढिलाे गरी शुरु भएकाे बैठककाे प्रारम्भमै नेपाली कांग्रेसका सांसदले अवराेध गरेका थिए । अवराेधकै बीच सभामुख देवराज घिमिरेले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि कांग्रेस–एमाले सांसदबीच धकेलाधकेल भएको हो ।

सांसदहरूबीच धकेलाधकेलकाे अवस्था भएपछि सभामुख घिमिरेले भोलि बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गर्नुभएकाे छ ।

यसअघि आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधि सभाको बैठक सत्तारूढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि दिउँसो ४ बजेका लागि सारिएको थियो ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद्काे दुवै सदनकाे बैठकमा अवरोध गर्दै आएको छ ।