काठमाडौं । सहकारीको रकम अपचलन छानबिन गर्न गठित संसदीय छानविन समितिको कार्यादेश बनाउन आज बैठक बस्दैछ । कार्यादेश टुंग्याउने जिम्मा पाएको कार्यदलको बैठक आज (आइतबार) बिहान साढे ८ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले जानकारी दिएका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तापक्ष, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका बीचमा शनिबार सहकारीको बचत अपचलनबारे छानबिन गर्न संसदीय समिति बनाउने सैद्धान्तिक सहमति भएको थियो । संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदलसमेत गठन भएको थियो । कार्यदलमा एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सांसद जीवन परियार, रास्वपा सांसद खनाल रहेका छन् ।
कांग्रेसको अवरोधकै कारण संसद बर्खे अधिवेशन सुरू भएयता नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । तर गत जेठ १ गते सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने प्रस्तुत गरिसकेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसको माग सम्बोधन भएकाले सदनको गतिरोध आइतबारबाट अन्त्य हुने विश्वास गरिएको छ । आजै बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।
-एनपी