काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद् अघि नबढ्न नदिने बताएका छन् । गृहमन्त्री लामिछानले सहकारी प्रकरणमा आफूमाथि उठेको प्रश्नको जवाफ संसद्मा दिए लगत्तै पत्रकार सम्मेलन गरी महामन्त्री थापाले भोलिको संसद बैठक अघि छानबिन समिति नबने संसद् अवरोध गर्ने बताएका हुन् ।
उनले भने, ‘गृहमन्त्रीले संसद्मा बोल्नु भयो । अब छानबिन समिति गठन हुनुपर्छ । भोलिको संसद् बैठक अघि छानबिन समिति नबने संसद अघि बढ्न दिँदैनौ । यसतर्फ प्रधानमन्त्रीको ध्यान जाओस ।’
यस्तै थापाले गृहमन्त्रीले फाईल खोलिदिउँ भनेर भनेको सुन्दा आफू चकित भएको बताए। गृहमन्त्रीले त धमाधम फाईल खोल्नुपर्ने महामन्त्री थापाको भनाइ छ ।
‘गृहमन्त्रीको प्रस्तुती टेलिभिजन प्रश्तोता हो कि गृहमन्त्री को अभिव्यक्ति हो भन्ने थोरै कन्फ्युजन भयो । किनकी टेलिभिजन प्रस्तोताको जस्तो हुँदा प्रश्नहरु सोध्ने, विषयहरु उठाउने स्वभाविकै कुरा हो । जुन तपाईहरुले पनि गरिराख्नुभएको छ । तर गृह मन्त्रालय भनेको त ठूलो जिम्मेवारी हो ’ थापाले भने ।
-एनपी