रविलाई गगनको चुनौती : प्रसूति गृहमा जन्मेको हुँ, त्यहीदेखि मेरोबारे अनुसन्धान गरे हुन्छ

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई आफू जन्मिएको प्रसूति गृहदेखिको अनुसन्धान गर्न चुनौती दिएका छन् । प्रतिनिधि सभाको बैठकमा रविले आफूमाथि बढी आलोचना गरेपछि गगनले सूचना भए आफूमाथि अनुसन्धानको फाइल खोल्दा आपत्ति नहुने बताएका हुन् ।

‘प्रसूति गृहमा जन्मेको हुँ । त्यहीदेखि मेरो अनुसन्धान गरे हुन्छ’, थापाले भने, ‘विदेशीलाई सूचना बेच्ने भनेर दाबी गर्नुभएको छ । यत्रो जानकारी रहेको गृहमन्त्री यसो भनेर बस्ने कि अनुसन्धान गर्ने ?’

रविले जुन-जुन विषयमा अनुसन्धान गर्ने हो गर्न पनि थापाले चुनौती दिएका छन् । ‘गृहमन्त्रीले समिति बनाउने हो भन्नुभएको छ । उहाँले भनेका जुन-जुन समितिमा हो बनाए हुन्छ’, थापाले भने ।

थापाले एमालेले सहकारीको विषय नउठाउने र रास्वपाले गिरीबन्धु नउठाउने समझदारी भएको पनि बताए ।  आफूले कुनै गल्ती गरेको भए यो १५ वर्षमा कुनै सरकारले नछोड्ने पनि उनले बताए ।

सम्बोधनका क्रममा गृहमन्त्री लामिछानेले तिमीहरू सबै चोर हौं मैले पनि चोर्न पाउनुपर्छ भनेको थापाको दाबी थियो ।

सबै फाइल खोल्न चेतावनी दिँदै थापाले तर्साउने काम बन्द गर्न चुनौती दिए ।

-एनपी