संसदीय छानविन समितिको कार्यादेशमा जुटेन सहमति

 

काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणको छानविनका लागि गठन गर्न लागिएको संसदीय छानविन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक निष्कर्षविहिन बनेको छ । बिहीबार सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकमा ठोस सहमति जुट्न नसकेको हो ।

संसदीय समितिमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो माग बाट पछि हटेको छैन भने सत्तारुढ दलहरुले गृहमन्त्रीको नाम नलेखि सहकारीको नामसम्म लेख्न सकिने प्रश्ताव गरेपनि बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका तर्फबाट कार्यदल सदस्य रहनुभएका सांसद जीवन परियारले गृहमन्त्रीको नाम उल्लेख नगरी कांग्रेस सहमति गर्न नसक्ने बताउनुभयो । उहाँले नाम उल्लेख नगरी गोलमोटल भाषामा छानविन अगाडी बढ्न नसक्ने धारणा आफ्नो तर्फबाट राखेको जानकारी दिनुभयो ।

त्यस्तै कार्यदल सदस्य तथा नेकपा(एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्रीको नाम राख्ने विषयमा सहमती जुट्न नसकेको बताउनुभयो । यद्यपी उहाँले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहमतीको नजिक आएको दाबी गर्नुभयो । शुक्रबार बिहान बस्ने बैठकमा निर्णय गर्नेगरी काम अगाडि बढेको उहाँको भनाई छ ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि सहमतिमा आउनका लागि प्रमुख प्रतिपक्ष दल सकारात्मक भएको दाबी गर्नुभयो । उहाँले व्यक्तिकेन्द्रित गरेर छानविन गर्दा न्यायोचित नहुने आफूहरुको मान्यता कायम रहेको बताउनुभयो ।

शुक्रबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । सो बैठक अगाडि कार्यदलको बैठक बसेर सहमतिको लागि प्रयास गर्ने नेताहरुले बताएका छन् ।