रुस तथा जापानका विदेशमन्त्रीबीच भेट-वार्ता

रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले हिजो मस्कोमा त्यहाँको भ्रमणमा रहनुभएका जापानी विदेशमन्त्री सेइजी माएहारासँग भेट-वार्ता गर्नुभयो। भेटका अवसरमा उहाँहरुले बाह्य जगतको ध्यानाकर्षणको विषय अर्थात् रुस तथा जापानबीचको भूखण्ड समस्या र आर्थिक सहयोग आदि विषयबारे वैचारिक आदान-प्रदान गर्नुभयो। साथै उहाँहरुले तथाकथित “उत्तरी भागमा रहेका चारवटा टापु”भन्ने ठाउँको सार्वभौमिकतासम्बन्धी समस्याको समाधानका लागि ऐतिहासिक विज्ञ परिषद्को स्थापना गर्ने प्रस्ताव पनि प्रस्तुत गर्नुभयो।

श्री लाभरोभले भेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै रुस तथा जापान दुवै पक्षले सम्पन्न भएका सम्बन्धित दस्तावेजबमोजिम् “शान्तिपूर्ण” वातावरणमा भूखण्डको समाधान गर्ने कुरा औंल्याउनुभयो। जापानी विदेशमन्त्री सेइजी माएहाराले उक्त समस्यामा दुवै देशबीचको मत-भिन्नता मौजुद रहे तापनि दुवै पक्षले निष्पक्ष र उचित रुपमा सम्झौता-वार्ता गर्ने आशा व्यक्त गर्नुभयो।

उहाँहरुले हिजैको भेट-वार्तामा आर्थिक, प्राविधिक, नैतिक र अन्तर्राष्ट्रिय मामिलामा रहेको आपसी सहयोगलाई सबल पार्ने विषयबारे पनि मतैक्य प्राप्त गर्नुभयो।