एमालेको राष्ट्रिय महिला भेला सुरु

 

काठमाडौँ-  नेकपा एमालेको महिला भेला काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरू भएको छ। बिहीबारसम्म चल्ने भेलाको उद्‌घाटन बुधबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन्। भेला एमालेको जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको हो।

भेलाको उद्‌घाटन सत्र प्रज्ञा भवनमा र बन्द सत्र कार्की बैंक्वेट बबरमहलमा हुने एमाले स्थायी कमिटी भानुभक्त ढकालले जानकारी दिएका छन्।

1140x725

सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवस घोषणा गरी मनाउँदै आएको छ। एमालेले पनि महिला अधिकार दिवसको अवसर पारेर भेला आयोजना गरिएको जनाएको छ।

‘हामीले पनि यो राष्ट्रिय भेला यही ऐतिहासिक दिनको सन्दर्भमा आयोजना गरेका छौं,’ स्थायी कमिटी सदस्य ढकालले भने, ‘यो भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको विशद चर्चा गरिनेछ, चुनौतीहरूका विषयमा छलफल गरिने छ र महिला आन्दोलनका अबका एजेण्डाहरूलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने छ।

भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, नेकपा एमाले आबद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरू, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिलाहरू प्रतिनिधिका रूपमा सहभागी हुने बताइएको छ।

-एनपी