भ्यालेन्टाइन जोडी फुड फेस्टिबलमा रमाए

चाँदनी हमाल, नागरिक

 

चितवन – सौराहा आएका भ्यालेन्टाइन जोडी आइतबार फुड फेस्टिबलमा रमाए। राप्ती किनारको एकान्तमा उनीहरुले चौरासी व्यञ्जनको स्वाद पनि चाखे। सौराहाका होटल भ्यालेन्टाइन र सिजनको पर्यटकसँगै होटल जोडीले भरिएका छन्। ‘सौराहा प्रेमी जोडीका लागि एकान्त र रमणीय ठाउँ हो,’ काठमाडौंबाट सौराहा आएको एक जोडीले भन्यो, ‘त्यसमाथि फुड फेस्टिबल सुनमा सुगन्ध।’

यसपटक विदेशी भ्यालेन्टाइन जोडीले ब्राह्मण भोगका मिठाईले मुख मिठ्याए। दूध तथा विभिन्न सामग्रीबाट बनेका अनेकन मिठाई स्टलमा आगन्तुकका लागि सजाइएको छ।


धर्मकर्म र स्वास्थ्यले माछामासु खान बन्चित पाहुना ब्ढी शाकाहारी खानामा रौसिए। सबैथरीका लागि सबैथरी खानेकुरा तयार गरेको आयोजक समितिका सुवास गौतमले बताए। ‘आउनोस्, अर्डर गर्नोस्, मनपरेको मान्छेसँगै खानुस्।’


सौराहास्थित रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) को मुख्य आयोजनामा भएको फुड फेस्टिबलमा सौराहाका सबै होटल व्यवसायीको सहयोग छ। भ्यालेन्टाइन्स जोडीको स्वागतमा ध्वजापताकाले झिलीमिली पारी सौराहालाई सजाइएको छ।


फागुन ३ गतेसम्म चल्ने फुड फेस्टिबलमा चलेको रेटभन्दा ३० प्रतिशत कम मेनुमा खाना खुवाइएको रेबानका कोषाध्यक्ष यादव श्रेष्ठले बताए।


विशेष गरी नेपाली खानामा नेवारी, थारु तथा विशुद्ध नेपाली खाना ढिँडो, गुन्दु्रक, लोकल माछा, कुखुराका विशेष परिकार फुड फेस्टिबलमा समावेश छ।


स्थानीय थारु समुदायको पारम्परिक खाना चिचर, घुँगी, हाँसको मासुको नयाँ स्वादले पनि पाहुनाको मन तानेको छ। त्यसबाहेक नेवारी खाजा र खाना तथा स्वदेशी विदेशी विभिन्न परिकारको ३६ स्टल छन्।


फेस्टिबलकै अवसरमा सोमबार मःम खाने प्रतियोगिता, बियर खाने र जुस पिउने प्रतियोगिता हुँदैछ। तातो मःम र चिसो बियर र जुस जति धेरै खायो उसले नै प्रतियोगिता जित्ने रेबानका चितवन अध्यक्ष पुरुषोत्तम श्रेष्ठले बताए।


देशकै तेस्रो पर्यटकीय गन्तब्य सौराहामा पर्यटन वर्षको सुरुवातसँगै पर्यटक संख्या बढ्दो छ। ‘केही समय अघिसम्म आन्तरिक पर्यटक बढी थिए, अहिले दुबै बराबरजस्तै छ,’ क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष शंकर सैंजुले भने।