तुलसीपुरमा सैनिक अमलदारले गरे श्रीमतीको हत्या

 

दाङ- दाङको तुलसीपुरमा एक सैनिक अमलदारले श्रीमतीलाई खुँडा प्रहार गरी हत्या गरेका छन्। ज्वालादल गण बारामा कार्यरत अमलदार ३६ वर्षीय शालिकराम बुढाथोकीले ३० वर्षीया श्रीमती टीका रावतलाई खुँडा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

श्रीमती टीका तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित राप्ती टोलमा गोकर्ण चन्दको घरमा भाडामा बस्दै आएकी थिइन्। शुक्रबार बिहान ९ बजेतिर श्रीमती उक्त कोठाबाट भागी छिमेकी तुलसीराम वलीको घरको पहिलो तलामा लुकेको अवस्थामा फेला पारी उनले खुँडा प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

श्रीमानको खुँडा प्रहारबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए। उनीहरूको घर कुपरकोट-६ मा पर्छ।

यसैगरी, खुकुरी प्रहारबाटै अछाम कमल बजार नगरपालिका-४ घर भई हाल १९ नम्बर बाहिनी तुलसीपुर दाङमा कार्यरत २९ वर्षीय सैनिक जवान आर्यन थापासमेत घाइते भएका छन्। उनी आफ्नै कोठामा रहेको अवस्थामा बुढाथोकीले खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ। उनको बायाँ काखी र घाँटीमा चोट लागेको छ। खुँडा प्रहार गर्ने बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ।

आर्यन र टीकाबीच अवैध सम्बन्ध रहेका कारण खुँडा प्रहार भएको हुन सक्ने प्रहरीको अनुमान छ । बुढाथोकी शान्ति सेनाबाट फर्किएका थिए। यद्यपि, यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

 

अन्य समाचारहरु