-गोपालप्रसाद भट्टराई,अर्घाखाँची।
जेठ-२६,अर्घाखाँची – नेकपा एमाले केन्द्रिय सचिव पद्मा अर्यालले आसन्न २०८४ को निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउन कसैले छेक्न नसक्ने दाबी गर्नुभएको छ ।
एमालेको परिकल्पना समृद्ध नेपाल सूखी नेपालीको लक्ष्य र नारालाई साकार पार्न राजनैतिक स्थायित्व, भिजनयुक्त नेता र दरिलो राजनितिक शक्ति अनिवार्य भएको र जुन २०८४ मा पुरा हुने बताउनुभएको छ ।
मिशन ८४ मा एमाले मुलुकको शक्तिशाली दल बन्ने, जसको अध्यक्ष केपी ओलीको नेतृत्वमा एकल बहुमतको सरकार बन्ने र त्यहिंबाट विकास र समृद्धिको यात्रा सुरु हुने उहाँको तर्क छ ।
नेकपा एमाले अर्घाखाँचीको नवौं जिल्ला अधिवेशनको आज सन्धिखर्कमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पूर्व मन्त्री एव्ं एमाले लुम्बिनी प्रदेश इन्चार्ज समेत रहनुभएकी नेतृ अर्यालले समृद्धिको कार्यभार पुरा गर्न एमालेले मिशन ८४ को अभियान सुरु गरेको उद्घोष गर्नुभएको छ ।
अहिलेको परिवर्तन लक्ष्य नभई कार्यनितिक सुधार मात्रै भएको र दिगो विकास र समाजवाद लक्ष्य भएको नेतृ अर्यालको भनाई छ । एमाले पुरानो भयो, सकियो भन्नेलाई एमाले के र को हो ? भन्ने इलाम र बझाङको उपचुनावले देखाइदिएको उहांको तर्क छ । महागठबन्धनलने पनि हराउन नसकेको एमाले देश र जनताको संवाहक भएको उद्घोष पनि गर्नुभयो ।
मुलुक बर्बार्दिको दिशामा फस्ने देखेपछि एमालेले देशलाई बचाउन नयाँ समिकरण बनाएको उहाँको स्पष्टोक्ति रहेको छ । नयाँ समिकरणपछि कांग्रेस सत्ता बाहिर बस्दा छट्पटिएको र माधव नेपाललाई एमाले भन्दा कांग्रेस प्यारो लागेको उहाँको आरोप छ ।
माधव नेपालले कांग्रेससंग मिलेर सरकार बनाउने जाल बुनेपनि सफल हुन नसकेको जिकिर गर्दै नेतृ अर्यालले यो समिकरण मिशन ८४ मा ओलीलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नेबेला सम्म रहिरहने दाबी गर्नुभएको छ ।
माधव नेपालले जतिवेला पनि धोका दिने आशंकामा एमालेले त्यसबाट बंच्न जनमत र जसपालाई सरकारमा ल्याएको खुलासा गर्नुभएको छ । यदि माधव नसच्चिए उपेन्द्र यादवको हालत हुने नेतृ अर्यालको चेतावनी छ ।
एमालेलाई प्रतिपक्षमै फलिफाफ भएपनि मुलुक गम्भिर खाडलमा फस्ने देखेपछि नयाँ समिकरण बनाउनु आफुहरुको बाध्यता रहेको उहाँको जिकिर छ । चिन र भारत दुइ ठुला शक्तिले नेपालमाथि गलत नजर लाउँदा राजनितिक स्थिरता हुन नसकेको उहाँको टिप्पणी छ ।
भारत,चिन, जापान र नेपाल एकैपटक स्वतन्त्र हैसियतमा आएको स्मरण गर्दै उहाँले अन्य मुलुकले तिव्र प्रगति गर्दा नेपालमा अस्थिर र अराजक राजनितिक ब्यवहारले विकासमा पछाडि परेको तर्क गर्नुभएको छ ।
अधिवेशनको उदघाटन शत्रमा एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश पुर्व मुख्यमन्त्री लिला गिरी, पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज ठाकुर गैरे, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल, केन्द्रिय कमिटी सदस्य बम बहादुर वि.क. र केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका अर्थ मन्त्री चेतनारायण आचार्यले सम्बोधन गर्नुभएको थियोे ।
कार्यक्रममा बोल्दै उहाँहरुले देश र जनताले एमाले खोजिरहेको बेलामा एमालेभित्र सानातिना किचलोमा नफसेर एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
पटकपटक पार्टिमाथि प्रहार गर्नेहरुको पराजय भएको र अहिले पार्टी एक ढिक्का रहेको सन्देश दिएर अगाडि बढ्न उहाँहरुले नेता कार्यकर्तालाई निर्देशन समेत गर्नुभएको छ ।
एमालेका बिरुद्ध महागठबन्धन गर्दापनि अर्घाखाँचीमा एमालेले स्थानिय निर्वाचनमा ३० वडामा वडाअध्यक्ष, ८ जना प्रमुख,उपप्रमुख र आम निर्वाचनमा क्लिन स्विप गरेकोमा उहाँहरुले अर्घाखाँचीको नेतृत्वलाई धन्यवाद दिनुभएको छ ।
एमाले सचिव तथा अर्घाखाँचीबाट निर्वाचित संघिय सांसद टोपबहादुर रायमाझीलाई नियोजित षड्यन्त्र गरि फसाएको दाबी गर्दै उहाँहरुले यसको डटेर सामना गर्ने र क्षतिपूर्ति भरण गर्ने गरि काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालको अध्यक्षता, उपाध्यक्ष इश्वरा पोख्रेलको स्वागत मन्तव्य र सचीव तोज बहादुर रायमाझी विधानको सन्चालनमा सम्पन्न अधिवेशनको उद्घाटन शत्रमा एमालेका प्रतिनिधि, कार्यकर्ता, शुभेच्छुक र दर्जनौं नेताहरुको आतिथ्यता रहेको थियो ।
अधिवेशनबाट नयाँ निति, कार्यक्रम र नेतृत्व चयन गर्न भूगोल तथा विशेष ईलाकाका ६५ शाखा, २१ वटा जनसंगठन र आयोजक कमिटीबाट गरी जम्मा ५ सय ६२ जना प्रतिनिधिले बन्दशत्रमा सहभागिता जनाएको एमाले अर्घाखाँचीले जनाएको छ ।
नवौं अधिवेशनमा हालका अध्यक्ष पिताम्बर भुसाल र प्रेमनारायण गैरे नेतृत्वको आकाङ्क्षी देखिनुभएको छ । यद्यपि सर्वसहमतिमै नयाँ जिल्ला कमिटी चयन हुने आयोजकको दाबी छ ।
थप तस्बिर: