प्रधानमन्त्रीलाई किन प्रधानमन्त्री बनेको हुँ भन्ने नै थाहा छैन : महामन्त्री थापा

 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताउनुभएको छ ।

शनिबार नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री किन भएको हो भन्ने नै थाहा नभएको बताउनुभएको हो ।

प्रधानमन्त्री के का लागि भएको र प्रधानमन्त्री भएर के गर्ने भन्ने पनि प्रधानमन्त्रीलाई थाहा नभएको उहाँको भनाई छ । उहाँले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको भन्दै अर्थतन्त्र बिग्रनुको जिम्मेवारी प्रधानमन्त्रीले नलिएको बताउनुभयो । विगतको सरकारको अर्थतन्त्र पनि राम्रो नभएको भन्दै उहाँले त्यतिबेला पनि प्रधानमन्त्रीले काँग्रेसलाई दोष लगाउनुभएको बताउनुभयो ।

महामन्त्री थापाले प्रधानमन्त्री दाहालले जसरीपनि प्रधानमन्त्री मात्रै बन्ने खेलोफड्को गरिरहेको बताउनुभयो । महामन्त्री थापाले एमालेले बजेटको स्वामित्व नलिएको बताउनुभयो । उहाँले एमालेले आगामी दिनमा सरकारमा बसिरहने तर आफ्नो सरकार हो भनेर नागरिकको तहमा जिम्मेवारी नलिने गरी अगाडी बढेको बताउनुभयो ।

महामन्त्री थापाले नयाँ राजनीतिक दलहरुले लोकरिझ्याँइ बाहेक केही नगर्ने पनि बताउनुभयो । उहाँले नयाँ राजनीतिक दलका मन्त्रीहरु जिम्मेवारी अनुसारको काम नगरी समाजिक सञ्जालमा लाइक बढाउने काममा मात्रै लागेको बताउनुभयो । उनीहरुले समस्याको समाधान गर्ने भन्दापनि चटक गरिरहेका बताउनुभयो ।