प्रेस विज्ञप्ती:
आदरणिय पत्रकार मित्रहरु,
देश यतिवेला राजनीतिक परिवर्तनको उत्कर्शमा छ । देशमा विभिन्न समयमा भएका विभिन्न खालका संघर्षहरुका कारण नेपाली जनताको अपेक्षा अनुसारको राजनीतिक व्यवस्था स्थापना भएको छ । यो राजनीतिक व्यवस्था स्थापनाको निम्ती आन्दोनको अगुवाई गर्ने विभिन्न दल, संघ संस्था तथा समुदायप्रति हामी आभार व्यक्त गर्दछौं ।
देशले अव अवस्था परिवर्तनको माग गरिरहेको छ । राजनीतिक अधिकार प्राप्त भएसंगै जनताको जनजिविकामा प्रत्यक्ष प्रभाव देखिनेगरी अवस्था परिवर्तनतर्फ अव सवैको ध्यान जानुपर्ने देखिएको छ ।
जनताका न्यूनतम आवश्यकताहरुलाई ध्यान दिन नसक्दा विस्तारै प्राप्त अधिकारहरु पनि अप्ठ्यारोमा पर्ने त होइनन भन्ने गम्भिर आशंकाका विच देशको अवस्था बदल्दै प्राप्त व्यवस्थाको रक्षा गर्दै समृद्ध मुलुक निर्माणका लागि आजभन्दा ठिक दुई वर्ष अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको हो ।
२०७९ असार ७ गतेका दिन जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दोस्रो वार्षिकोत्सव देशभर उत्साहका साथ मनाउदै छ । स्थापना दिवसको अवसरमा हामीले पनि अर्घाखाँची जिल्लामा विभिन्न कार्यक्रमहरु तय गरेका छौं । सोही काार्यक्रमको विषयमा जानकारी दिन यो पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।
हाम्रा कार्यक्रमहरु ः
१, पत्रकार सम्मेलन ः हामीले यो हप्ताभर संचालन गर्ने कार्यक्रमहरुको विषयमा जानकारी दिनका लागि असार २ गते पत्रकार सम्मेलनको आयोजना गरेका छौं ।
२, निःशुल्क दन्त परिक्षण शिविर ः
बालबालिका भविश्यका कर्णधार हुन् । बालबालिकाको सर्वाङ्गीण विकासको लागि राज्यको ध्यान पुग्नुपर्छ । बालस्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा केही न केही भूमिका निर्वाह गर्न सकियोस् भन्ने सोँचका साथ हामी यही असार ४ गते अर्घाखाँची निदान डेन्टल क्लिनिक संगको सहकार्यमा भूमिकास्थान ४ धारापानीमा रहेको वीरेन्द्र आधारभूत विद्यालयमा निशुल्क दन्त परीक्षण शिविरको आयोजना गरेका छौं । उक्त कार्यक्रम मार्फत विद्यालयका बालबालिकाहरु सहित स्थानीयहरुले सेवा लिनुहुनेछ ।
३, रक्तदान कार्यक्रम
“रक्तदानका लागि सवै अगाडी बढौं” भन्ने मुल मन्त्रका साथ यही असार ५ गते हामी सदरमुकाम सन्धिखर्कमा नेपाल नियमित रक्तदाता संघ, बुटवलसंगको सहकार्यमा रक्तदान कार्यक्रम संचालन गर्दैछौं । रगतको अभावको कारण आइपर्ने गम्भिर स्वास्थ्य संकटमा टेवा पुर्याउने उद्धेश्यका साथ आयोजना गर्न लागिएको रक्तदान कार्यक्रम सन्धिखर्क शान्ति बँगैचामा असार ५ गते बिहान १० बजेबाट शुरु गरिदैछ । उक्त कार्यक्रममा सक्रिय साथको लागि समस्त जिल्लावासीहरुमा अनुरोध गर्दछौं ।
४, बृक्षारोपण कार्यक्रम ः
असार ६ गतेका दिन जिल्लाको कुनै धार्मिक पर्यटकीय क्षेत्रमा जडिबुटीजन्य विरुवाहरु रोपण गरिनेछ । गतवर्षमा गरिएको वृक्षारोपणलाई यो वर्ष निरन्तरता दिन चाहिरहेका छौं । मौसम अनुकुल भएको अवस्थामा मात्र उचित स्थलको छनौट गरी वृक्षारोपण कार्यक्रम सम्पन्न गरिनेछ ।
५, चियापान कार्यक्रम ः
पार्टी स्थापना भएको दिन असार ७ गते सन्धिखर्कमा चियापान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा जिल्लामा क्रियाशिल सवै राजनीतिक दलका प्रमुखहरु, निर्वाचित जनप्रतिनिधीहरु, कार्यालय प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रमुखहरु, तपाई पत्रकार साथीहरु सहित पार्टीका विभिन्न तहका नेता तथा सदस्यहरु सहभागी बन्नुहुनेछ । चियापान कार्यक्रम जिल्ला समितिले सदरमुकाम सन्धिखर्कमा र शितगंगा नगर समितिले शितगंगाको ठाडामा समेत असार ५ गते एकैदिन आयोजना गरेको छ ।
र अन्त्यमा यी सवै कार्यक्रमहरुमा जिल्लावासीहरुको सक्रिय सहभागीताको अपेक्षा गर्दछौं । यी सवै कार्यक्रमहरु पत्रकार मित्रहरुको अर्थपूर्ण सहभागिता विना अपूर्ण हुने भएकाले औपचारिक रुपमा आज नै अग्रिम निमन्त्रणा समेत गर्दछु ।
हरिप्रसाद भुसाल
जिल्ला संयोजक
२०८१ असार २ गते आइतवार