‘सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत भएको बताएका छन् । नेपाल बुद्धिजीवि सङ्गठन छैटौं राष्ट्रिय सम्मेलनको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको बताएका छन् ।
उनले नेपालमा राजनीतिक दल र पार्टीहरु दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरूले पुराना दललाई अपमान गरिरहेको आरोप लगाए । ‘नयाँ आएर बोल्नेहरूको जिम्मेवारी हुन्छ की पुराना पार्टीहरूले लामो संघर्ष, जेलनेल, यातना, भूमिगत यो सबै गरेर नलढेको भए लाकतान्त्रिक गणतन्त्र र ती नयाँ मान्छेहरू आउने वातावरण बन्न सम्भव थियो त ? विल्कुल थिएन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उनीहरूले त पुरानाहरूलाई सम्मान गर्नुपर्ने, तपाईंहरूको त्याग र बलिदानको परिणाम हामी जस्ताले पनि अहिले अवसर पायाँै भनेर प्रशंसा गर्नुपर्ने ठाउँमा आफूलाई जन्म दिने बाउआमालाई गाली गरेको जस्तै लाजमर्दो लाग्छ नि । आमा बाउलाई त बुढाबुढीलाई त सम्मान पो गर्नुपर्छ ।’
उनले गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेले देश र जनतालाई माया नगर्ने बताए । प्रधानमन्त्री दाहालले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेरमात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपालको राजनीतिक परिवर्तनमा बुद्धिजीवीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संसारभर जनतालाई कतापट्टि डोर्याउने भन्ने सवालमा बुद्धिजीवी निर्णायक हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘क्रान्ति, शान्ति प्रक्रिया र संविधान निर्माणमा बुद्धिजीवीको योगदान रहेको छ । हिजो विचार निर्माण र सङ्गठन निर्माणमा बुद्धिजीवीको सक्रियता थियो, आज पनि उत्तिकै छ ।’
क्रान्तिपछि भएका महत्वपूर्ण कामहरूलाई नजरअन्दाज गरेर परिवर्तन विरोधी भाष्य निर्माण गर्न खोजिएको भन्दै प्रधानमन्त्री दाहालले त्यस्ता गतिविधिको खुलेर विरोध गर्न र प्रतिवाद गर्नुपर्ने आवश्यकता औंल्याए । उनले बुद्धिजीवीहरूको जिम्मेवारी समाजमा सकारात्मक भाष्य निर्माण गरेर आशाको सन्देश प्रवाह गर्नुरहेको बताए ।
बुद्धिजीवीहरूले जनमतलाई समाजवादी दिशातिर डोर्याउन भूमिका खेल्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले क्रान्तिका उपलब्धि जोगाउन र समाजवादको वैचारिक आधार तयार पार्न सबैले आ–आफ्ना क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले बृहत्तर पार्टी एकताका निम्ति आफू लागिपरेको जानकारी दिँदै जतिसुकै अप्ठ्यारो परिस्थिति आए पनि समाजवादको आधार निर्माण गर्न आफू दृढ सङ्कल्पित भएर लागेको स्पष्ट पारे ।