गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ जारी

 

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत मुछिएको सहकारी ठगीसम्बन्धी मुद्दामा अहिले सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । उक्त मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । महान्यायाधीवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध कुनै पनि जिल्लामा अनुसन्धान, अभियोगपत्र र जाहेरी नभएको भनी क्लिनचिट दिएपछि उक्त पत्र खारेजीको माग गर्दै भट्टराईले मुद्दा हालेका हुन् ।

पहिला दरपिठ भएको उक्त रिट पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको आदेशमा दर्ता भएको हो । बारम्बार स्थगित हुँदै आएको उक्त रिटको पछिल्लो सुनुवाइमा भने सर्वोच्चले पोखरा र लुम्बिनीबाट रिट निवेदनहरु झिकाउन आदेश दिदएको थियो । पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारी ठगीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले गरेको अध्ययन प्रतिवेदन पनि सर्वोच्च अदालत पुगेको छ ।
-एनपी