प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको पूर्ण विवरण
फाल्गुन ७ गते, २०६७ मा प्रकाशित
(२०६७ फाल्गुन ६, शुक्रवार)
काठमाडौ – प्रधानमन्त्री झलनाथ खनालले देशवासीका नाममा आज पहिलो सम्बोधन गर्दै परिवर्तनकारी शक्तिहरुलाई लोकतान्त्रिक संविधान निर्माणको कार्यमा एकताबद्ध हुन आहृवान गर्नुभएको छ ।
वर्तमान सङ्क्रमणकालीन स्थितिमा सरकारविहीनताको अवस्था अन्त्य भए पनि सरकारले पूर्णता नपाएको र सातबुँदे सहमतिका नाममा प्रश्नहरु उठे पनि चाँडै स्थिति सहज बनाउनेतिर आफ्नो सम्पूर्ण क्रियाशीलता हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री खनालले भन्नुभयो- ‘लोकतन्त्रको सुदृढीकरकण र जनताको समृद्धिका लागि राजनीतिक सहमतिबाहेक अर्को विकल्प छैन । सहमतिबाटै शान्ति र संविधानको कार्यभार पूरा गर्नु अहिलेको आवश्यकता हो ।’
प्रधानमन्त्री खनालले शान्तिप्रक्रियाको पूर्णता र लोकतान्त्रिक संविधान निर्माणको राष्ट्रिय कार्यभार पूरा गर्न सहमति सहकार्यको विकल्प नभएको बताउनुभयो ।
सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा साँझ सवा ५ बजे सम्बोधन गर्दै उहाँले परिवर्तनका हिमायती राजनीतिक शक्तिहरुलाई एकएक घण्टाको महत्व बुझी एकताबद्ध भई देशको समृद्धिका लागि अघि बढ्न र वर्तमान सरकारमा सहभागी हुन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री खनालले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग गत माघ २० गते भएको सातबुँदे सहमति कसैका विरुद्ध मोर्चाबन्दी गर्न नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने उद्देश्यले गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कसैका विरुद्ध मोर्चाबन्दी नगर्ने नेकपा -एमाले)को घोषित नीति हो, त्यसकारण सातबुँदे सहमतिलाई लिएर वाम धु्रवीकरणको आशङ्का गर्न आवश्यक छैन । र यो बाँडचुँडको प्रपञ्च पनि होइन ।’
उहाँले सबै दललाई सम्मानजनकरुपमा सरकारमा समावेश गरिने विश्वास दिलाउनुभयो ।
नेपाली काँग्रेसले प्रधानमन्त्रीको निर्वाचनमा पराजयपछि प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने निर्णय गर्नु सकारात्मक भए पनि लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको पार्टीले वर्तमान सङ्क्रमणकालीन अवस्थामा शान्ति र संविधानका लागि प्रतिपक्षमा भन्दा सरकारमा सहभागी भएर नै थप योगदान गर्नसक्ने धारणा राख्नुभयो ।
प्रधानमन्त्री खनालले स्थायी सरकारको रुपमा रहेका कर्मचारीतन्त्र र सुरक्षा निकायलाई वर्तमान असहज परिस्थितिमा जनताको सेवा, सुरक्षा र सुविधालाई ध्यान दिई कसैको दबाबमा नपरी निष्पक्षरुपमा काम गर्न निर्देशन दिनुभयो । आफूले गरेको सहमतिको आग्रहलाई कमजोरी नठान्न आग्रह गर्दै उहाँले हाम्रो अर्जुन दृष्टि नेपाली जनताले भोगिरहेका दुःख, शान्तिप्रक्रियाको पूर्णता र देशको समृद्धि हुनुपर्दछ भन्नुभयो ।
सरकारले पूर्णता पाइसकेको भए सेना समायोजनको प्रक्रियाको तालिका निर्माण, लोडसेडिङ्ग घटाउनेलगायत जनताका आशा र अपेक्षा पूरा गर्ने क्रममा केही प्रगति भइसक्ने जनाउँदै प्रधानमन्त्री खनालले चाँडै सरकारले पूर्णता पाएपछि ती कामले गति लिने बताउनुभयो ।
प्रधानमन्त्री खनालले आफू पूर्वी पहाडको किसान परिवारको छोरो जनता र पार्टी कार्यकर्ताको विश्वासबाट यो उच्च पदमा आइपुगेकामा गर्व गर्दै अब आफ्ना लागि केही पाउने चाहनाभन्दा पनि मातृभूमिको ऋण चुक्ता गर्ने दायित्व बाँकी रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘म पदका रहुन्जेल नेपाली जनता र लोकतन्त्रको शिर निहुराउने कुनैपनि काम गर्ने छैन ।’
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको पूर्ण विवरण