काठमाडौ – प्राप्त समाचार अनुसार सम्बन्धविच्छेदको मुद्दाका क्रममा एक व्यक्तिले अदालत परिसरमै बिहीबार श्रीमतीलाई झापड हानेका छन् । सम्बन्धविच्छेदका लागि चलिरहेको मुद्दाको पेसीका दिन पुनरावेदन अदालत पाटनमा माओवादी नेता सीपी गजुरेलका कान्छा छोरा सञ्जीवले श्रीमती सुनीता पोख्रेललाई कुटेका हुन् । चार वर्षअघि बिहे गरेका उनीहरूबीच सम्बन्धविच्छेदको मुद्दा चलिरहेको छ ।
मुद्दाले पूर्णता नपाउँदै सञ्जीवले अर्को बिहे गरेको बारे सोधपुछ गर्दा आफूमाथि हातपात गरेको सुनीताले बताइन् । ‘पेसी लिएर फर्किने क्रममा उक्त कुरा सोध्दा अपशब्द प्रयोग गर्दै पिट्नुभयो,’ उनले भनिन् ।
सञ्जीवले भने हातपात नगरेको दाबी गरे । ‘बाटो छेकेर अपशब्द बोल्न थालेपछि उनलाई हटाउँदै अघि बढ्ने क्रममा हातले लागेको हो,’ उनले भने, ‘कुटपिट गरेको होइन ।’ उनीहरूबीच मागी विवाह भएको ६ महिना नबित्दै दाइजोको विषयलाई लिएर झगडा हुन थालेको सुनीताको दाबी छ । संविधानसभा चुनावताका गजुरेल परिवारले सम्बन्धविच्छेद गर्ने भन्दै काठमाडौं महानगरपालिकामा उजुरी दिएका थिए । सुनीताले नमानेपछि अदालतमा मुद्दा हालिएको थियो । जिल्ला अदालतले सम्बन्धविच्छेदको फैसला सुनाएपछि सुनीता पुनरावेदन गएकी हुन् । तारेख लिएर फर्किने क्रममा हातपात भएपछि पुनरावेदन अदालत पाटनका रजिस्ट्रार कृष्ण गिरीले अर्कोपल्ट पेसीमा सुनीतालाई पूर्ण सुरक्षा उपलब्ध गराइने बताए ।