काठमाडौं । तीन वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका तीन हजार ९९८ जनाले ज्यान गुमाएका छन् । प्रतिनिधिसभामा आइतबार बजेटमाथिको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले तीन वर्षको अवधिमा एक हजार २०७ जना अंगभंग भएको पनि जानकारी दिए ।
“वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष ०७८/०७९ देखि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरूमध्ये तीन हजार ९९८ को निधन तथा एक हजार २०७ जना अंगभंग भएका छन्,” उनले सदनमा भने ।
मन्त्री अर्यालका अनुसार सरकारले मृतकका आफन्त र अंगभंग भएकाहरूका लागि दुई अर्ब ९ करोड ४६ लाख २२ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।