काठमाडौं– सहकारी छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कको विवरण मागेको छ । बुधबारको बैठकबाट सहकारी छानबिन विशेष समितिले मिडिया नेट्वर्क प्रालिको कागजात माग गर्ने निर्णय गरेको समिति सदस्य बद्री पाण्डेले बताए ।
बैठकले ९ वटा सहकारीका कागजात र गोरखा मिडियाको विवरण मागेको पाण्डेले जानकारी दिए । बैठकमा समितिले सहकारी क्षेत्रका जानकार पूर्व मन्त्री दीपकप्रकाश बाँस्कोटा र केशवप्रसाद बडालसँग सल्लाह लिएको उनले बताए ।
सहकारी छानबिन विशेष समितिले समस्याग्रस्त २९ सहकारी संस्थाहरूको छानबिन गरिरहेको छ । उसले सहकारी बोर्ड, सहकारी विभाग, कानुन मन्त्रालय र सहकारी मन्त्री लगायत निकायसँग छलफल गरिरहेको छ । यस्तै प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो सीआईबीसँग पनि छलफल गर्ने लागेको छ ।
अनुसूची २ मा रहेका इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, आइडियल यमुना बहुउद्देश्यीय संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाहरूको कागजात झिकाउने निर्णय भएको हो ।
समिति संयोजक सूर्य थापाले समितिको कार्यादेशको अनुसूची २ मा रहेका ९ वटा सहकारीका सम्दर्भमा सम्बन्धित निकायबाट कागजात मगाउने निर्णय समितिले गरेको बताए ।
ती सहकारीहरूको साधारण सभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन , सञ्चालक समितिको विवरण, लेखा सुपरिवेक्षण र अन्य आवश्यक बित्तीय विवररणका साथै विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको स्थीति समेत ६ वटा बुँदामा कागजात माग गर्ने निर्णय भएको संयोजक थापाले उल्लेख गरे । उनले गोर्खा मिडियामा बिभिन्न सहकारीबाट प्रवाह भएको रकममा समितिको चासो केन्द्रित रहेको जिकिर गरे ।
त्यस्तै थापाले यसअघि गठन भएका बिभिन्न समिति, आयोग लगाएतको प्रतिवेदन प्राप्त भएको र अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरिएको जानकारी दिए । सभापति थापाले सहकारी छानविनमा समग्ररुपमा अध्ययन गरिरहेको भन्दै निष्पक्ष रुपमा छानबिन हुने दाबी गरे। गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।
-Np / Khabarhub