-टेकराज भुसाल।
बुटवल। २१ औं राष्ट्रिय धान दिवस अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकामा पनि मनाइएको छ। भूमिकास्थान नगरपालिका कृषि शाखाको आयोजनामा वडा २ ढाकावाङ्गकाे खाकावेशीमा धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको हो।
“जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि” भन्ने नाराका साथ २१ औं राष्ट्रिय धान दिवस मनाईएको भूमिकास्थान नगरपालिका कृषि शाखाले जनाएको छ।
नगरप्रमुख झविलाल थापा, प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपाली, भूमिकास्थान-२ का वडाध्यक्ष बुद्धिबहादुर थापा, ३ का वडाध्यक्ष कृष्णप्रसाद बन्जाडे, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, संचारकर्मी, विभिन्न कृषि सहकारी संस्थाका अध्यक्षहरु र कृषकहरुकाे उपस्थितिमा धान राेपाइ गरिएको थियो।
साे अवसरमा नगरप्रमुख थापाले नगरवासीको मुख्य आम्दानीको स्रोत धान नै रहेकाले यसको उत्पादन बढाउन र यहाँका किसानको संरक्षण गर्ने मुख्य दायित्व स्थानीय तहको काँधमा रहेको बताउदै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याइएको बताउनुभयाे।
‘हामी बाँच्नका लागि धानको सहारा लिन्छौं´ नगरप्रमुख थापाले भन्नुभयो ‘तर धान उत्पादन गर्ने किसानलाई बचाउने प्रयास गर्दैनौं ।’ अब किसानलाई बचाउने कार्यतर्फ नगरपालिका सदैव तत्पर रहन्छ।
सोही अवसरमा सहभागी र अतिथिहरुलाई दही चिउरा समेत भोजन गराइएको नगरपालिका कृषि विकास शाखा प्रमुख रामबहादुर थापाले जानकारी दिनुभयाे।
नेपाल कृषि प्रधान देश भएको र यहाँका अधिकांश मानिस कृषि पेशामा निर्भर रहेकाले बर्सेनि धान दिवस मनाउने गरिएको छ । २०६१ साल मंसिर २९ गते मन्त्रिपरिषदले निर्णय गरि २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।