रास्वपाले गर्यो महामन्त्री मुकुल ढकाललाई निलम्बन ।

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री पदबाट मुकुल ढकाललाई निलम्बन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई ७ दिनका लागि निलम्बन गर्ने पार्टी अनुशासन आयोगको सिफारिसलाई अनुमोदन गरेको सहप्रवक्ता मनिष झाले जानकारी दिए ।

यसअघि नयाँ महामन्त्रीमा हालका प्रमुख सचेतक सन्तोष परियारको सम्भावनाबारे चर्चा भएको थियो । यद्यपि, बैठकले कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ । सहप्रवक्ता रहेका मनिष झा प्रवक्ता तोकिएका छन् ।

इलाम-२ को उपचुनावमा रास्वपा उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएपछि पार्टीको अवस्थाबारे बुझ्ने सचिवालयको निर्णयअनुसार ६ जेठमा समीक्षा यात्रामा निस्केका ढकालले एक महिनापछि फर्केर १२ असारमा प्रतिवेदन बुझाएका थिए ।

सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाउनुअघि नै यसका केही अंश मिडियामा सार्वजनिक गरेको भन्दै उनलाई कारबाही गर्नुपर्ने आवाज पार्टीमा उठेको थियो । वर्तमान अवस्थामा रास्वपाको जनमत अत्यन्तै नाजुक रहेको र यही अवस्था रहे आगामी आम निर्वाचनमा एक, दुई सिटभन्दा नजित्ने निचोड उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिवेदनमा प्रयोग गरिएका भाषा र उनका पछिल्ला गतिविधि दुवै बदनियतपूर्ण रहेको भन्दै पार्टीभित्र उनी शंकाको घेरामा परेका थिए । यसअघि सभापति लामिछानेका विश्वासपात्र बनेर काम गरेका ढकाल इलाम २ को चुनावपछि पार्टी नेतृत्वसँग चिढिँदै गएका थिए ।