– अ के ला
आफुले सास फेरिरहेको समाज र त्यो समाजको सामाजिकता त्यससँग जोडिएको कामकुरालाइ बदलिँदो समयसन्दर्भसँग ढाल्न पुरानो जमानाका स्रष्टाहरुले निकै डण्डा पेले यद्यपि पेल्दैछन् । समाज देश दुनियाँ बदल्न र त्यहाँ विद्यमान थोत्रा पुराना कवाडी सोँच बिचार बदल्न कलम चलाउने केही हातहरु बन्दुकै समात्न पुगे भने धेरै हातहरु यस्ता थिए जो छेपारोलेझैँ केवल कलमै मात्र समातेर बसिरहे । अक्षरै मात्र केलाईरहे । सायद उनीहरुलाइ लाग्यो होला कि जति ताकत बन्दुकमा हुन्छ त्यति ताकत कलममा पनि छ । सायद बन्दुकमा भन्दा बढी ! समयसन्दर्भमा उनीहरुको त्यो सोँच कति सार्थक थियो कति थिएन र त्यो सोँच त्यो कदमले आज के गूल खिलायो निःसन्देह उनीहरुका लागि समिक्षाको बिषय बन्नसक्ला । किनकि दुनियाँ त त्यसरी किमार्थ चल्दैन जसरी कि चलाउँन खोजिएको थियो ।
पुरानो जमानाका मानिसहरु सीधासाधा र मिहेनती मात्र नभइ धार्मिक र ईमान्दार पनि थिए । जमाना जुनसुकै र जस्तोसुकै भए पनि ईमान-जमानमा कायम रहन बडो गाह्रो हुन्छ । त्यसमाथि सुविधाविहीन जमानामा ! हदभन्दा बढी ईमान र जमानमा कायम रहनु र त्यसप्रति कटिवद्ध हुनु भनेको त अयोध्याको गद्धी त्यागेर बनवास रोज्नु जस्तै हो । तर ईमान-जमान पाप र पुण्यको चेतना त पुरानो जमानाका स्रष्टाहरुमा यति थियो कि देश र समाज बदल्ने दिशामा उनीहरुले आफु र आफ्नो जीवनलाइ सधैँ रामको भरोसामा छाडीदिए ।
तर अहिले जमाना बदलिएको छ । मानिसहरु बदलिएका छन् । मानिसका सोँचहरु बदलिएका छन् । चाल ढाल रुप रङ्ग सबै बदलिएका छन् । चिजविजहरु बदलिएका छन् । र पापपुण्यको परिभाषा पनि उत्तिकै बदलिएको छ । नयाँ जमाना त यस्तो छ कि सफल जिन्दगीको लागि मानिसहरु जे गर्न पनि तत्पर देखिन्छन् । अनुभव साक्षी छ अव त्यो दिन टाढा छैन जव मानिस मानिसकै मासु चिथोर्न हिच्किचाउँने छैनन् ।
नयाँ जमानाको प्रतिक्षामा बसेका धेरै मानिसहरु आज द्विविधामा छन् । उनीहरु ठान्दछन् कि जमाना बदलिएपछि सबैथोक बदलिन्छ । आफु से आफ् बदलिन्छ र आफुले भने जस्तो हुन्छ । तर पुरानो जमाना बितेर नयाँ जमाना आए पनि त्यसले कुनै लछारपाटो लगाएको देखिँदैन । मानिसहरुमा देखिएको द्विविधा त्यसैको वितृष्णा हुनसक्छ । नत्र पात्रो बदलिँदैमा तकदीर बदलिने त होईन !
ऐन कानून नीति नियम नियमावली मात्र भएर हुँदैन । त्योसंगै मानिसको आचार र बिचार पनि सही हुनुपर्छ । त्यहाँको सभ्यता पनि राम्रो हुनु जरुरी छ । ऐन कानून नीति नियम नियमावली त कहिले थिएन मानिसको खानपिनदेखि सोँच बिचार र व्यवहार नबदलिएसम्म ऐनका ठेलीले मात्र के हुन्छ लोककल्याणकारी राज्य र शोषणरहीत समाजको परिकल्पना त पाचायतले पनि गर् यो तर व्यवहारीक हुनसकेन । सोझासाझाहरुको गिदी भुटेर दुनियाँलाइ बेवकूफ बनाउनु हिजो पनि टाठाबाठाको पेशा थियो आज पनि छ र भोली पनि हुने छ । अनुमान गर्न गाह्रो छ अझै कति लाटागाँडाहरु यसको प्रभावमा पर्ने छन् र झुक्किने छन् ।
आदर्शको निरर्थक रटानले न केवल प्रगति रोकिन्छ अपितु पेटको ज्वाला पनि शान्त पार्न सकिँदैन । टाठाबाठाहरुले आदर्शलाइ नरुचाउँनु र यसबाट टाढिनुको तात्पर्य नै त्यही हो । नत्र आदर्श त्यत्ति नराम्रो शब्द भने होईन । सायद तीनैकालका लागि ! समयको धारसँगै बदलिँदै गरेको यो समाज आदर्शसँग यसरी टाढिनुको अर्थ त्यसबाट जीवनको गुल्जारै सम्भव नभएर हो अरुले होईन । तर कुनै समय यस्तो पनि थियो जहाँ भौतिक सुख सुविधाको नाममा केही थिएन । रेडियो टिभी कम्प्युटर ईमेल ईन्टरनेट मोवाईल मोटरसाईकल प्राडो पजेरो । केही पनि ! जे थियो किताव मात्र थियो जहाँ जिन्दगीको रहस्य कुँदिएको हुन्थ्यो अर्थहरु सजिएका त हुन्थे र पनि गुल्जार थिएन । सफलता थिएन ।
स्थिति आज यति बदलिएको छ कि कसैलाई आज आदर्शको जरुरत नै छैन । आदर्शबाट पनि जिन्दगी चल्छ भनियो भने आदर्श र पैसा बीचको अन्तर खुट्टयाईसकेका आजका मानिसहरु बङ्गारा देखाएर हाँस्न सक्छन् । कारण आदर्शबाट जिन्दगी गुड्न त गुड्छ तर मुकाममै पुग्दैन पुग्नैसक्तैन । भौँतारिन्छ अल्मलिन्छ । मुकाममा नपुग्नु भौँतारिनु या अल्मलिनुको नाम जिन्दगी त होईन ! जिन्दगी त हो समयमा मुकाममा पुग्नु र त्यसको स्वाद लिनु । ठीक त्यसरी जसरी कि आज नेपाली राजनीतिका स्वाँठहरुले लिईरहेका छन् ।
आदर्श सबैको साझाशत्रु भएकाले आज यो लगभग लोपोन्मुखकै अवस्थामा छ । र पूर्णरुपेण यो लोप हुनु पनि पर्छ । किनकि यसका कारण धेरैको घर तहसनहस भएको छ । धेरैले अमूल्य जीवन बर्बाद गरेका छन् र कितावको धुलो खाएर बिमारी निम्त्याएका छन् । जीवनको हरेक मोड र सफलताको जुनसुकै बाटोमा तगारो बनिदिने त्यो आदर्शको के तूक के प्रयोजन कदाचित त्यो आदर्श कुनैदिन कुनै काम लागेछ भने चिठ्ठै मान्नुपर्ने हुनसक्छ ।
आदर्श र व्यवहार सिक्काका दुइ पाटा नभई दिएको भए यी दुई बीचमा तादात्म्यता जरुर मिल्न सक्दथ्यो र आदर्श पनि व्यवहार जस्तै जायज ठानिन सक्दथ्यो । तर जुवा जाँड पराया माल मा रमाएको यस्तो समाजमा घूसखोरी भ्रष्टाचारले गाँजेको यो समाजमा आदर्श खोजेर त्यसलाइ साँचेर सफलताको कल्पना गर्छ भने अनुमान गर्न गाह्रो पर्दैन कि निजको दिमागी स्क्रू ढिला छ र राँची पुर् याउनु जरुरी छ । आदर्शलाइ व्यवहारले थिचॆपछि त्यस्तो व्यक्ति समाज र राष्ट्रको उँधोगति कसरी कल्पना गर्नसकिन्छ के गर्ने गरेर कसरी धान्ने सायद यो बुझेर नै टाठाबाठाहरु सके जति आदर्शसँग टाढै रहन रुचाएका हुनसक्दछन् ।
आदर्श छोडेर व्यवहारका पछाडि दौडिनेहरु मूर्ख होईनन् । बैरीको मेख मर्नेगरी महल ठड्याउनेहरु मूर्ख होईनन् । घर घडेरी जोड्नेहरु मूर्ख होईनन् । टन्न बैंक ब्यालेन्स गर्नेहरु मूर्ख होईनन् । र मूर्ख होईनन् छोराछोरीलाइ देशी-बिदेशी महाविद्यालयहरुमा पढ्न पठाउने हाम्रा ती बजुर्गहरु पनि । चाहे त्यो काम जे जसरी गरिएको होओस । तर गरेर त देखायो मर्दको बच्चाले ! मूर्ख त ती हुन् जो कोरा आदर्शको घोँचो समातेर बस्छ र परिवारलाइ भोकभोकै सुताउँदछन् । मूर्ख त बरु ती हुन् जसले काला अक्षरहरुमै संसार देख्दछन् र त्यसैलाइ आफ्नो सर्वश्व ठान्दछन् । नयाँ जमानाका सुदामाहरुलाई कसले बुझाउने कि जुन आदर्शलाइ उसले आफ्नो धर्म ठान्यो कर्म ठान्यो र त्यसैको निम्ति हत्ते हाल्यो अन्ततोगत्वा त्यही चिज हरेक सफलतामा अवरोध बन्यो । प्रगतिको गति अवरुद्ध बन्यो । सायद कालिदासहरु सोँच्दाहुन् कि आदर्शमा दम् छ तर होईन । त्यसमा अभाव पीडा र हीनतावोध बाहेक केही छैन ।
आजादी पिँजरामा राखिएको पंछीलाइ पनि चाहिन्छ । खोरभित्रको बाख्रोलाइ पनि चाहिन्छ । तर आजादीको नाममा यो देशले जुन मूल्य चुकायो र यद्यपि चुकाउँदैछ यो आदर्श होईन र त्यसले देशलाइ बर्बादी बाहेक केही पनि दिएको छैन दिँदैन । यस किसिमको दैनिकीका लागि जनताले आजादी खोजेका होईनन् । यथास्थितिवादी एवम् व्राह्मणवादी सोँच राजनीतिक दम्भ व्यक्ति र परिवादमा चल्ने राजनीति र राजनैतिक दलको सिन्दुर भिरेर आपसमा मारामार गोदागोद गर्ने थरीथरीका यी जातीय क्षेत्रीय र वर्गीय संघ संगठनहरु आ-आफ्नो जुन जुन आदर्शलाइ च्यापेर गाउँ जिल्ला क्षेत्र र केन्द्रमा बितण्डा मच्चाईरहेका छन् सही मानेमा त्यो आदर्श आदर्श नै होईन ।
बारुदको आदर्श त्यागेर माओवादी लोकतन्त्रमा छिरेर व्यवहारिक बन्नखोजेझैँ राजतन्त्रको आदर्श त्यागेर कांग्रेस लोकतान्त्रिक बने जस्तै र दोधारे राजनीतिको आदर्श त्यागेर एमाले मधेसवादी लगायत अरु स्याना दलहरु पनि दुधको दुध पानीको पानीको राजनीतिमा आए भने ढिलै सही एकदिन यो देशले आफ्नो गन्तव्य भेट्टाइ छाड्नेछ । किनकि सबैका लागि नयाँ नेपाल अव न सिर्फ हाउगूजी बनेको छ बल्कि यो शब्द टप्परटूईँयाहरुको केवल खाने भाँडो मात्र बनेको छ । राजनीतिप्रति मानिसको बढ्दो आकर्षण त्यही कारण हो जुन बहुतै खतरनाक छ । यो आकर्षणले फाईदा त छ तर देशलाइ हैन राजनीति गर्नेहरुलाइ । यो अराजकता र दण्डहिनता पनि त्यसैको नतिजा हो ।
त्यसकारण भन्नेले भनिरहे पनि कराउने कराईरहे पनि आफ्नै सुसेधन्धामा लाग्नुको बिकल्प छैन त्यो पनि आदर्श त्यागेर । व्यावहारिक बनेर । यसैमा कल्याण छ । व्यवहार आदर्शभन्दा हजारगुना सत्य र तेजिलो छ । अस्तु ।