अरब राष्ट्रहरुमा जारी आन्दोलन इराकसम्म पुग्यो, आक्रोश दिवसको आह्वानसहित गरिएको प्रदर्शनमा सुरक्षाकर्मीद्वारा बल प्रयोग, बाह्र जनाको मृत्यु

इराकमा भ्रष्टाचार र आधारभूत सेवाको अभाव भएको भन्दै हजारौं प्रदर्शनकारीले देशव्यापी आक्रोश दिवसको आह्वान गर्दै सडक प्रदर्शन गरेका छन्।

 

बढ्दो गरिबी, भ्रष्टाचार र लामो समयदेखि शासन गर्दै आएका शासक विरुद्ध अरब राष्ट्रहरुमा भइरहेको सरकार विरोधी प्रदर्शनबाट उत्साहित भएका इराकीले भ्रष्टाचार र आधारभूत सेवाको अभावमा विरोध प्रदर्शन गरेका हुन्। उत्तरी शहरहरुमा आयोजित सडक प्रदर्शनमा सहभागि हजारौं प्रदर्शनकारीलाई तितरवितर पार्ने क्रममा सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा बाह्र जना प्रदर्शनकारी मारिएका छन्।

 

त्यसैगरी राजधानी बग्दादमा पनि सडक प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको छ। सुरक्षाकर्मीले लाठी चार्ज र बल प्रयोग गरेपछि आक्रोशित भएका प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरेका छन्। इराकी भुतपूर्व शासक सद्दाम हुसैनलाई अपदस्थ गराउन आठ वर्षअघि अमेरिकी नेतृत्वमा भएको युद्ध पछि पनि इराकमा खाद्य संकट, विद्युत् सेवा, रोजगारी  र विकासको गति धिमा रहेको विश्लेषकहरु बताउँछन्।

 

इराकी प्रधानमन्त्री अल मलिकिले शान्तिपुर्ण प्रदर्शन गर्न पाउनु जनताको अधिकार भए पनि प्रदर्शनमा अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा र प्रतिबन्धित वाथ पार्टीका सदस्यहरुको घुसपैठलाई ध्यानमा राखी सडक प्रदर्शन रोक्न आग्रह गरेका छन्।