– शोभाखर पन्थी
फाल्गुण-१६ अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा कामदारको अभाव हुन थालेको छ । दुई वर्ष यता सन्धिखर्कमा घर बनाउने संख्यामा अत्यधिक बृद्धि भएपछि कामदारको अभाव हुन थालेको हो ।
द्वन्द्वको समयमा प्राय शून्य भएको सन्धिखर्कमा शान्ती प्रकि्रयासँगै निक्कै चहलपहल बढेको छ । जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दाहरु बसाई सराई गरेर सन्धिखर्क आउने क्रम दिनप्रति दिन बढ्दै गएको छ । अघिल्लो वर्ष १ सय २० वटा पक्की घर निर्माण भएको सन्धिखर्कको बजार एरियामा यस वर्ष श्रावण यता करीब १ सय ९० वटा पक्की घर बनि रहेका छन् ।
घर बनाउनको लागि आवश्यक पर्ने दक्ष र अर्ध दक्ष कामदारका साथै मजदु्रहरु नपाउँदा निर्माणको काम निकै प्रभावित भएको निर्माण व्यवसायीहरुको भनाई छ । अर्घाखाँचीका अधिकाम्स युवाहरु रोजगारीका लागि खाडी मुलुकमा गएकाले सिङ्गो जिल्ला भरनै कामदारको अभाव भएको छ । सन्धिखर्कमा मजदुर मिस्त्रीहरुले २ सय ५० रुपैयादेखि ६ सय रुपैँया सम्म कामका आधारमा ज्याला लिने गरेका छन् ।
अर्घाखाँचीमा प्युठान रोल्पा दाङ्ग लगायतका जिल्लाबाट आएका मजदुरहरुले काम गर्ने गरेका छन् ।