लामिछानेले देश कसले चलाउँछ भन्नेकुरा राम्रोसँग जानकारी मिलेको बताएका छन् । ‘हामी त केही सिक्नु थियो । हामीले त केही गर्नु थियो । हामी त हेर्नु थियो । सिंहदरबार कसरी चलाउने भन्नेकुरा जान्नका लागि सिंहदरबार कसरी चल्दैछ भन्नेकुरा हेर्नैपर्छ । जति गाली खाएर भएपनि केही समय सरकारमा जानु नै थियो,’उनले भने,‘अहिले जुन चार महिनाको अवधि हामीले सरकारमा बस्यौँ, यो अवधिले अब चाहीँ हामीलाई धेरै कुरा बुझ्न सहयोग मिलेको छ । अब पद र गोपनियताको शपथ खाएका छौँ, सबैकुरा सार्वजनिक गर्न त मिल्दैन । तर देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रो सँग थाहा पायौँ । यो ठूलो पाठ सिकेका छौँ । यसबाट राज्यलाई घाटा लगाएका छैनौँ ।’
उनले गोपनियताको शपथ ग्रहण गरेकाले सबैकुरा भन्न नमिल्ने भन्दै सरकारमा बस्दा कुन शक्ति हाबी हुन्छ र कुन शक्तिबाट सरकार चलेको छ भन्नेकुराको जानकारी पाएको बताए । उनले नयाँ राजनीतिक दल भएर किन सरकारमा गएको भन्ने प्रश्नहरु आएको भन्दै सरकारमा गएर नै सरकार भित्रका गल्तीहरु बुझ्ने बताए । उनले पुराना राजनीतिक दलहरुसँग सँगै उभिँदा गल्ती केही नगरे पनि गाली मात्रै खाएको बताए । २१ जना भ्रष्टहरुलाई संसदमा जान रोकेर आफूहरुले राम्रा मान्छे ल्याएको दाबी गरे ।
-एनपी