काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । आफूहरुले अघि सारेको संविधान संशोधनको मुद्दामा सघाउन तयार रहेको बताउँदै अहिले विश्वासको मत दिने आधार तयार भइनसकेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।
अहिले सत्ता टिकाउनका लागि आफूहरुको मत आवश्यक पनि नभएको उनको तर्क छ । संविधान संशोधनका लागि नयाँ सरकार बनेको भनिए पनि पछिल्ला गतिविधिहरूले आशंका गर्ने धेरै ठाउँ देखिएको उनले बताएका छन् । राप्रपाले सरकारका काम कारबाही हेरेर आगामी दिनमा थप निर्णय लिने उनले बताएका छन् । संविधान संशोधनको सिँढी बनाएर वा खोल ओढेर सत्ता सहकार्यका लागि मात्रै मिलेको महसुस हुन थालेको बताए ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद लगायतका पक्षमा आफ्नो पार्टी रहेको पनि अध्यक्ष लिङ्देनको भनाइ छ । ‘अहिलेको राज्य संरचना, निर्वाचन प्रणाली, नियुक्ति प्रणालीमा व्यापक रुपमा संशोधन गरेर जानुपर्छ,’ उनको भनाइ छ, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद, सांसदले मन्त्री हुन नपाउने व्यवस्था, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तहको व्यवस्था । संवैधानिक अंगहरुमा योग्यता र क्षमताको आधारमा नियुक्ति, दलीय भागबण्डा होइन। जस्ता विषयहरु जो सबैका लागि हुन् यस्ता विषयहरु हामीले भनेका छौं ।’ प्रधानमन्त्री ओलीले भोलि सदनमा विश्वासको मत लिँदैछन् ।
-एनपी ।