हेगस्थित अन्तर्राष्ट्रिय अपराध अदालत आइसीसीले
लीबियामा भईरहेको हिंसामा मानवाधिकार उल्लंघन भएको आशंका देखाउदै नेता कर्णेल गद्दाफी एवम अन्य लिबियाका अधिकारी विरुद्द युद्ध अपराध, मानवताविरुद्ध अपराधका साथै हत्या लगायतका बिषयमा औपचारिक जाँच शुरु गर्ने फ़ैसला गरेको छ।
यस अघि संयुक्त राष्ट्र सुरक्षा परिषदले आईसीसीलाई प्रदर्शनकारी माथि बलप्रयोग गरेको बारेमा छानबिनको लागि आग्रह गरेको थियो ।
यसैगरी लिवियाका विद्रोहीहरुले तेलको बन्दरगाहका नामले चिनिने पूर्वि शहर ब्रेगामा नेता कर्णेल गद्दाफी समर्थक सेनालाई परास्त पारी खुशीयाली मनाएका छन्।
सो शहर कब्जा गर्नको लागि दुवै पक्षबीच ठूलो भिडन्त भएको थियो। गद्दाफी समर्थक सेनाले सो शहरमा आफ्नो नियन्त्रण बनाउने कोसिस गरेको भएता पनि विद्रोहीहरुले उनीहरुलाई परास्त पार्न सफल भएको बताइएको छ। यसैबीच गद्दाफीले आफू अन्तिम क्षणसम्म आफ्ना विरोधी विरुद्ध लडाइ जारी राख्ने चेतावनी दिएका छन्। उनले सरकारी टेलिभिजनमा गरेको सम्बोधनमा यदि पश्चिमा शक्ति राष्ट्रहरुले लिवियामाथि आफूविरुद्ध शैन्य अभियान संचालनमा ल्याएमा यसको परिणाम गंम्भिर हुने र हजारौ लिवियालीहरुको ज्यान जाने बताएका छन्।
नेता गद्दाफीलाई सत्ताच्यूत गर्न शैन्य कारवाही गर्ने मनस्थितिमा केही पश्चिमा शक्ति राष्ट्रहरु पुगेका भएता पनि यस सम्बन्धी कुनै सहमति बनेको छैन। उता लिवियामा गद्दाफीको विरुद्ध आन्दोलन तिव्र बनेपछि हजारौ आप्रबासी एवं विदेशी कामदारहरुको लिविया छाड्ने क्रम तिव्र बनेको छ। यद्यपी लिवियाबाट पलायन भएका हजारौ विदेशी नागरिकहरु लिवियाको सिमा क्षेत्रमा कष्टपूर्ण तरिकाले बसेका हुनाले उनीहरुलाई जतिसक्दो छिटो उद्धार गर्नुपर्ने बताइएको छ।