एउटा युग नै अन्त्य भयो


 

– शेरबहादुर देउवा

 

काठमाडौ – सन्त र आदर्शवादी नेता किसुनजीको निधनले मलाई ठूलो पीडा भएको छ । कांग्रेसका एकमात्र जीवित संस्थापक सदस्यको निधनसँगै एउटा युगको अन्त्य भएको छ । किसुनजी आफ्नो सिद्धान्तबाट कहिल्यै पछि नहट्ने व्यक्तित्व हुनुहुन्थ्यो । यही कारण पनि सबैभन्दा बढी जेल बस्नुभयो । २०२३/२४ सालतिरको कुरा हो, उहाँ नख्खु जेलमा हुनुहुन्थ्यो । म विद्यार्थी आन्दोलनमा थिएँ र सोही क्रममा पक्राउ गरेर मलाई पनि नख्खु जेलमै लगिएको थियो । किसुनजीसँग मेरो पहिलो भेट त्यहीं भएको हो । त्यसयता सधैं म उहाँको अत्यन्त निकट रहँदै आएको छु । उहाँबाट निकै प्रभावित छु ।

किसुनजी स्पष्ट र सपाट हुनुहुन्थ्यो । खुला हृदयको, कहिल्यै कसैलाई नबिझाउने खालको व्यक्तित्व हुनुहुन्थ्यो । हसिमजाक गर्न रुचाउने उहाँ आफूमाथि जतिसुकै दुःख, कष्ट आइपरे पनि कहिल्यै हतोत्साही हुनुभएन, त्यसलाई हलुका रूपमा लिनुहुन्थ्यो । हामीलाई पनि दुःखमा नआत्तिन र सुखमा नमात्तिन प्रेरणा दिनुहुन्थ्यो । उहाँको अर्को विशेषता हो, निष्कलंक छवि । यत्रो लामो राजनीतिक इतिहासमा उहाँको यस छविमाथि कहिल्यै कसैले प्रश्न उठाउन सकेन । उहाँ समाज र मुलुक भ्रष्टाचाररहित होस् भन्ने चाहनुहुन्थ्यो र त्यसका लागि मरिमेटेर लागिपर्नुभएको थियो ।

आध्यात्मिक व्यक्तित्व र अविचलित अडान, आदर्शका हिसाबले उहाँजस्तो अर्को नेता मैले देखेको छैन । उहाँका अगाडि सबै नतमस्तक हुन्थे । प्रजातन्त्र र राष्ट्रियताप्रतिको उहाँको निष्ठा अतुलनीय छ । प्रवासभन्दा आफ्नै मुलुकमा रहेर उहाँले अविचलित रूपमा प्रजातन्त्रका लागि त्याग, तपस्या र संघर्ष गर्नुभयो । अहिंसात्मक तरिकाले शान्तिपूर्ण रूपमै परिवर्तन ल्याउन सकिन्छ भन्ने उहाँकै विश्वास थियो ।

पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनका क्रममा म पटक-पटक उहाँसँगै जेल बसें । २०२७ सालमा नेपाल विद्यार्थी संगठनको पहिलो सम्मेलनका बेला उहाँसँग थप निकट हुने मौका पाइयो । उहाँ भर्खरै जेलबाट छुट्नुभएको थियो, उद्घाटनका लागि आउनुपर्छ भन्दा ‘हुन्छ’ भनिहाल्नुभयो । हामी केहीले उद्घाटनमा भाषण गर्दा फेरि जेल हाल्न सक्छन् भन्यौं । तर उहाँले त्यसको प्रवाह गर्नु भएन । २०३६ सालको जनमतसंग्रहका क्रममा त म उहाँसँगै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म धेरै ठाउँमा घुमेको छु ।

जतिसुकै दुःखमा पनि उहाँको चेहरामा चिन्ता झल्किँदैनथ्यो । सधैं ‘जोली मुड’ मा रहने, रमाइलो, ठट्टा गरिरहने उहाँको स्वभाव थियो । ठट्टा फेरि हलुका होइन, त्यसमा धेरै गहन कुरा लुकेको हुन्थ्यो । उहाँको ठट्टा व्यंग्यात्मक हुन्थ्यो । मैले चिनेदेखि उहाँको अनुहारमा कहिल्यै नैराश्य देखिनँ । जेलमा होस् कि सरकारमा उहाँको ‘मुड’ सधैं एकैनासको हुन्थ्यो । नेपालको इतिहासमै सबैभन्दा लोकपि्रय प्रधानमन्त्री सायद उहाँ नै हुनुभयो, २०४७ मा प्रजातन्त्र स्थापनापछि बनेको अन्तरिम सरकारको नेतृत्व गरेर ।

२०४८ को निर्वाचनमा उहाँमाथि ठूलो षड्यन्त्र, जालझेल भएको हो । षड्यन्त्रमा को-को संलग्न थिए म अहिले भन्न चाहन्नँ । चुनाव हार्नुलाई समेत उहाँले हलुका रूपमा लिनुभयो । त्यत्रो लोकपि्रय प्रधानमन्त्री हार्दा हामीलाई निकै दुःख लागेको थियो तर उहाँ भने केही पनि नभएझैं गरिरहनुभएको थियो । त्यस घटनालाई सामान्य रूपमा लिइरहनुभएको थियो । उहाँ भन्नुहुन्थ्यो, ‘यो भगवान्को इच्छा हो ।’ तर उहाँले षड्यन्त्रमा सामेल भएकालाई दोष दिनुभएन । नचिनेर होइन, जानेरै पनि कसैलाई दोष दिनु भएन । न त जनतालाई नै दोष दिनुभयो ।

२०५६ मा पनि उहाँकै नाममा चुनाव जितेर पछि प्रधानमन्त्रीबाट हटाइयो, त्यसबेला पनि उहाँ दुःखी हुनुभएन । राजीनामा नदिन आएको दबाबका बाबजुद उहाँले प्रधानमन्त्री पद छाड्नुभयो । किनकि, सत्ता उहाँको प्राथमिकता थिएन । उहाँ त सबैलाई समेटेर, समाजमा सद्भाव कायम राखेर मुलुकलाई अघि बढाउन चाहनुहुन्थ्यो । मलाई पनि उहाँले नै राजनीतिमा अघि बढाउनुभएको हो । मलाई असाध्यै माया गर्नुहुन्थ्यो । पार्टीमा दुई धार हुँदा पनि सधैं मलाई समर्थन गर्नुभयो । उहाँको यो ऋण तिर्न सकिँदैन । गिरिजाबाबुसँग झगडा गर्दा पनि उहाँले मलाई पूरै समर्थन गर्नुभएको हो । किन माया गर्नुहुन्थ्यो थाहा भएन, सोध्ने कुरा पनि भएन । तर साँच्चिकै माया गर्नुहुन्थ्यो, जेलमा सँगै बसेको भएर पनि होला । म पनि सोझो भएकाले पनि होला । लाटो भन्ने हिसाबले होइन तर ‘तिमी सोझो छौं’ भन्नुहुन्थ्यो । पार्टी विभाजनपछि पनि मलाई समर्थन र प्रोत्साहित गरिरहनुभयो । पछिल्लो पटक कांग्रेस सभापतिमा पनि मैले नै जिते हुन्थ्यो भन्ने उहाँको चाहना र सद्भाव थियो ।  

 

हो, राजतन्त्रप्रति उहाँको सद्भाव थियो । यसमा दुईमत छैन । तर राजालाई मन पराएर उहाँले राजसंस्थाको बचाउ गर्नुभएको होइन । अर्को बलियो वैकल्पिक संस्था नबन्दासम्म सबैलाई समेट्ने आधार बन्न सक्छ भन्ने विश्वासमा उहाँले राजसंस्थाप्रति सद्भाव देखाउनुभएको हो । त्यसमा अलिकति आध्यात्मिक कारण पनि होला । पछिल्लो समय देश बिगि्रयो, सामाजिक सद्भाव खल्बलियो, जातीय द्वन्द्व बढ्यो भन्नेमा उहाँको ठूलो चिन्ता थियो । तपाईंहरूले पार्टीमा पनि एकता कायम गरेर, सबैलाई समेटेर, मिलाएर अघि बढ्नुपर्छ, देशको विकास र राष्ट्रियताको जगेर्ना गर्नुपर्छ भन्नुहुन्थ्यो । 

 

किसुनजीको निधनसँगै एउटा युग समाप्त भएको छ । हाम्रो पार्टीले उहाँको आदर्श, निष्ठालाई अघि बढाउन सक्यो भने मात्रै साँच्चिकै उहाँप्रति सम्मान र योगदानको कदर हुनेछ । किसुनजीको आदर्शमा चल्ने मेरो प्रयत्न हुनेछ । म उहाँप्रति हार्दिक श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु ।

 


(सरोजराज अधिकारीसँग कुराकानीमा आधारित)