इजिप्टको राजधानी कायरोमा प्रदर्शनकारीले गुप्तचर प्रहरी कार्यालयको मुख्यालयमा तोडफोड गरेका छन्। प्रदर्शनकारीले मुख्यालयमा रहेका महत्वपूर्ण कागजात पनि जलाइदिएका छन्। प्रदर्शनकारी आक्रामक बन्दै मुख्यालयमा प्रवेश गरेपछि प्रहरीले उनीहरुलाइ रोक्ने प्रयास गर्दा प्रदर्शनकारी र प्रहरीविच भिडन्त भएको थियो। यसअघि शुक्रवार अलेक्जान्ड्रिया शहरमा प्रदर्शनकारीले प्रान्तिय सुरक्षा कार्यालयको मुख्यालयमा तोडफोड गरेका थिए। गत महिना अपदस्थ गरिएका राष्ट्रपति होस्नि मुबारकले गठन गरेको सुरक्षाबललाइ खारेजी गर्नुपर्ने माग राख्दै प्रदर्शनकारी तोडफोडमा उत्रिएका थिए। इजिप्टमा प्रदर्शनकारीले मुबारकको शासनकालमा गठन गरिएका सबै सरकारी विभाग र निकायको विघटन हुनुपर्ने माग राख्दै प्रदर्शन गरिरहको छन्। इजिप्टमा अहिले सेनाको नेतृत्वको सरकार रहेको छ।
साउदी अरव
साउदी अरव सरकारले देशभित्र कुनै पनि किसिमका प्रदर्शनमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। अल्पसंख्यक शिया समुदायले सरकार विरोधी प्रदर्शन सुरु गरेपछि साउदी अरब सरकारले यस्तो घोषणा गरेको हो। त्यहाँको आन्तरिक मामला मन्त्रालयले सरकारी टेलिभिजन मार्फत सो घोषणा गरेको हो। आन्तारिक मामला मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मुलुकमा शान्ति भंग गर्ने कुनै पनि प्रयासलाई विफल तुल्याउन सुरक्षाकर्मी जस्तोसुकै कदम उठाउन पछि नहट्ने चेतावनी पनि दिइएको छ। विज्ञप्तिमा साउदी अरवको कानुनमा कुनैपनि विरोध प्रदर्शन, जूलुस निकाल्नु र धर्ना दिने अधिकार नरहेको बताइएको छ। साउदी अरवमा इस्लामिक कानुन र साउदी समाजको संस्कृति र मूल्य विरुद्धको रुपमा विरोध कार्यक्रमलाइ लिने गरिएको छ। साउदी अरवको पूर्वि क्षेत्रमा अल्पसंख्यक शिया समुदायको बसोबास रहेको छ। उनीहरुले विगत केही दिनदेखि साउदी सरकारको विरोधमा प्रदर्शन गर्दै आएका छन्।