काठमाडौं । भदौ दोस्रो साता काठमाडौंमा गाडीको कुम्भमेला सुरु हुने भएको छ । भृकुटीमण्डपमा भदौ ११ देखि नाडा अटो शो हुन लागेको हो ।
नाडा अटो मोबाइल्स एसोसिएसनले आज पत्रकार सम्मेलन गरी शो बारे विस्तृत जानकारी गराएको हो । भदौ ११ देखि १६ गतेसम्म चल्ने प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् ।
यस पटकको शोमा २४ वटा चारपांग्रे बान्ड, १९ वटा दुईपांग्रे ब्रान्ड र १२ वटा हल्का व्यावसायिक सवारीसाधनका ब्रान्ड प्रदर्शन गरिने जनाइएको छ । शोमा ९५ प्रदर्शकले ५५ ब्राण्डका सवारी प्रदर्शन गर्ने जनाइएको छ । साथै प्रदर्शनीमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टका विज्ञसहितका कूल १ सय ३० स्टल रहने जनाइएको छ ।
आर्थिक मन्दीले प्रभावित अटोमोबाइल क्षेत्रलाई नाडा अटो शोले केही हदसम्म पुनर्जीवन दिने आयोजकको विश्वास छ ।