विदेशी नागरिकबाट राजनीतिक चन्दा स्वीकार गरेपछि जापानका विदेशमन्त्री सेइजी माएहाराद्धारा पदबाट राजिनामा

विदेशी नागरिकबाट राजनीतिक चन्दा स्वीकार गरेपछि विवादमा परेका  जापानका विदेशमन्त्री सेइजी माएहाराले पदबाट राजिनामा दिएका छन्। जापानको कानूनमा त्यस्ता क्रियाकलापमा प्रतिबन्ध लगाइएको छ भने विपक्षी दलले विदेशमन्त्रीको राजिनामा गरिरहेको थियो।

 

संसदबाट बजेट विधेयक पारित गराउन संघर्षरत जापानी प्रधानमन्त्री नाआतो कानलाई विदेशमन्त्रीको राजिनामा ठूलो धक्का भएको विश्लेषकहरुको भनाइ छ। माएहारालाई कानका उत्तराधिकारीका रुपमा समेत हेरिएको थियो। उनले जापानमा बस्दै आएका दक्षिण कोरियाली नागरिकबाट पचास हजार येन चन्दा लिएको स्वीकार गरेको दुई दिन पछि पत्रकार सम्मेलनमार्फत राजिनामा दिएका हुन्।

 

जापानमा राजनीतिमा बैदेशिक हस्तक्षेप रोक्ने अभिप्रायले विदेशी नागरिकबाट चन्दा लिन प्रतिबन्धीत छ। देशको आर्थिक अवस्थाका कारण दवावमा रहँदै आएका प्रधानमन्त्री नाआतोकान माथि विपक्षीहरुले मध्यावधी चुनावको आह्वान गर्न दवाव दिँदै आएका छन्।

 

जापानमा वृद्धहरुको संख्या अत्याधिक रहेका कारण त्यसलाई लाग्ने सार्वजनिक खर्च ब्यवस्थापनका लागि भन्दै प्रधानमन्त्रीले कर सुधारको प्रस्ताव अघि सारेका छन्। तर तीन खर्व डलर बराबरको उनको प्रस्तावित बजेट पारित गराउन उनलाई सहज नभएको विश्लेषकहरु बताउँछन्।

 

राजिनामा दिएका विदेशमन्त्री अमेरिकासँग निकट सम्बन्ध राख्ने पक्षमा र चीनको बढ्दो सैनिक प्रभावका आलोचक रहँदै आएका थिए।