-ठाकुर अधिकारी, अर्घाखाँची।
अर्घाखाँची – आत्महत्याका घटनाहरूको सम्बन्धमा छोटो विचार व्यक्त गर्ने अनुमति चाहन्छु ।
आत्म हत्याका घटनाहरू दिनप्रतिदिन बढ्दै गइरहेका छन् । सामाजिक सदाचार, शान्ति, सुरक्षा तथा अमनचयनमा नकारात्मक प्रभाव पर्नुकासाथै आत्म हत्या गर्नेका परिवार तथा आफन्तजनमा निकै पीडाबोध भएको छ । बाल बच्चाहरु अभिभाबक विहिन भएका छन्, पति पत्नी एकल बनेका छन् त कसैको पारिवारिक संरचना नै तहसनहस भइरहेका घटनाहरू हामी सबैले नजिकबाट नियालेकै कुरा हो ।
आत्म हत्याको प्रमुख कारण मानसिक तथा मनोसामाजिक समस्या हो । प्रत्येकको जीवन महत्वपूर्ण एबं बहुमुल्य छ । धर्म शास्त्रमा उल्लेख भए अनुसार मान्छेको जीवन प्राप्त गर्न ८४ लाख वर्ष विभिन्न प्राणीको जीवनमा प्रवेश गर्दै मानव रूपी जीवन प्राप्त हुन्छ ।
अर्को तथ्य विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वमा प्रत्येक ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्दछ । वर्षभरिमा करिब ८ लाख जनाले आत्महत्याकारण ज्यान गुमाउनु परेको तथ्याङ्क छ । नेपाल तथा हाम्रो गाउँ समाजमा पनि आत्महत्याका घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन् ।
मान्छेले आत्महत्या गर्नुको मुख्य कारण मानसिक तथा मनोसामाजिक समस्या हो । जुन समस्या अन्तर्गत पहिलो कारण डिप्रेसन ( उदासीनता वा निराश) नै हो । मानसिक रोगले च्याप्दै गएपछि मान्छे आत्महत्या गर्ने अवस्थामा पुग्छ ।
त्यसै गरी दोस्रो कारण आवेग हो भने अन्य कारणहरूमा, व्यापार, व्यवसायमा घाटा, पढाइमा हुने असफलता, आफन्त वा परिवारजनमा कसैको मृत्यु, प्रेमी प्रेमिका बीच संबंध बिछोड, ऋण तथा आर्थिक समस्या, बेरोजगारी समस्या, महिला हिँसा, पति पत्नी बीचको सम्बन्धमा बिग्रदा, आफूले सोचेको काममा असफलता, लामो समयदेखि रक्सी तथा लागू औषध एबं नशालु पदार्थको सेवन , दीर्घ रोग जस्ता विभिन्न समस्याहरूको कारणले तनाव भई डिप्रेसन अर्थात् उदासीनता रोग लागि उचित उपचार नपाई आत्महत्या गर्ने घटना भइरहेका छन् ।
आत्महत्यालाई न्यूनीकरण गर्न देहाय बमोजिम उपायहरूमा केही हदसम्म हामीले सहयोग तथा योगदान गर्न सकियो भने कम तथा रोकथाम गर्न सकिन्छ ।
१) पीडितलाई चिकित्सक तथा मनोपरामर्शकर्ता सँग परामर्श लिन सहयोग तथा प्रेरित गर्ने ।
२) आत्महत्याकाे जोखिम भएका व्यक्तिसँग मायालु व्यवहार गर्ने ।
३) उसको मनको कुरा सक्रियतापूर्वक सुन्ने र सहानुभूति प्रकट गर्ने ।
४) सामाजिक क्रियकलापमा सहभागी हुन प्रेरित गर्ने ।
५) आफूले जानेका वा अनुभव गरेका तनाव व्यवस्थापनका उपायहरू सिकाउने ।
६) आफुको कुनै सहयोग आबस्यक परेको वा नपरेको निश्चित गर्न नम्रताका साथ सोध्ने र आबस्यक
सहयोग गर्ने ।
७) आफू कमजोर छु भन्ने कहिल्यै नसोच्ने ।
८) रमाइलो वातावरण सृजना गरेर सधैं फ्रेश हुने ।
९) कुनै नजिकको व्यक्तिले आत्महत्या सम्बन्धि कुनै संकेत देखाएमा बचाउ सम्बन्धि तत्काल योजना बनाउने ।
१०) आत्महत्या गर्ने व्यक्तिको भिडियो, फोटो अन्य कुनै आत्महत्या गर्नुभन्दा अगाडि लेखेका घटना सँग सम्बन्धित लेख (Sucide Note) सामाजिक सञ्जालमा नराख्ने ।
१२) सधैं परिवार, आफन्त तथा साथीभाईहरु सँगसँगै रमाउने यक्लो भएको महसुस नगर्ने ।
१३) आत्महत्याको संकेत देखाएका मान्छेको जीवन रक्षाको लागि आबस्यक प्रयास गर्ने किनकि मानवीय क्षति भइसकेपछि परिवार तथा आफन्तजनको पीडाबोध भएको बेला सान्त्वना दिने भेटघाट गर्ने प्रतिस्पर्धा गरेर मात्र घाउमा मलम पट्टी लगाउन सकिँदैन ।
त्यसैले हामी सबै आत्महत्याका घटना न्यूनीकरणमा जिम्मेवारीपूर्वक लाग्नुपर्ने टड्कारो आवश्यकता छ ।
लेखक : ठाकुर अधिकारी, गैरसरकारी संस्था महासंघ अर्घाखाँची अध्यक्ष हुनुहुन्छ।