-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।
भाद्र–१२,अर्घाखाँची। राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिले सन्धिखर्क नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । स्थानिय तहलाई जनताले महशुस गर्ने स्थानिय सरकारको रुपमा भूमिका निभाउन ध्यानाकर्षण गराउँदै उसले १५ बुँदे ज्ञापनपत्र पेश गरेको हो ।
राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि.सी.को नेृतत्वमा केन्द्रिय सदस्य यमलाल पोख्रेल, नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल, जिल्ला उपाध्यक्ष गोपाल पौडेल, राजमो नगर अध्यक्ष गोविन्द वि.सी., कोषाध्यक्ष लिला भुसाल, सचिवालय सदस्यदोय कमल प्रसाद घिमिरे, भिमलाल आचार्य लगायतको टोलीले नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठलाई भेटगरि ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि सन् १९५० को असमान सन्धि, राष्ट्रघाती अन्य सन्धिसम्झौताको खारेजीको निम्ती नगरपालिकाबाट निर्णय गराई संघिय सरकारलाई दबाब दिन माग गरिएको छ ।
कालापानीमा भारतीय सेनाको कब्जा, भारतद्वारा नेपालको भूमिमा भइरहेको अतिक्रमण र अमेरिकाले नेपाल माथि लादेको एम.सि.सी.खारेज गर्नको निम्ती संघिय सरकारलाई दबाब दिनपनि राजमोले सन्धिखर्क नगरपालिकालाई आग्रह गरेको छ ।
पालिकामा बढिरहेको बेरुजु र अनुत्पादक क्षेत्रमा भइरहेको खर्च नियन्त्रण, शैक्षिक क्षेत्रमा गुणस्तर वृद्धि, स्वरोजगारका लागि पालिकाको योजना, सहकारीको व्यवस्थित परिचालन, सार्वजनिक सवारी यातायातलाई व्यवस्थित गर्न, कालोबजारी, महङ्गी र विचौलियातन्त्रको अन्त्य गर्नपनि राजमोले ज्ञापनपत्र मार्फत आग्रह गरेको छ । साथै किसानको उत्पादनको वास्तविक मूल्य र किसानलाई आवश्यक कृषि सामग्री मल, विउ, विषादी तथा प्रविधिबारे आवश्यक काम गर्न नगरपालिकाको ध्यानाकर्षण गराइएको राजमोले जनाएको छ ।
सहज र प्रभावकारी स्वास्थ्यसेवा, भौतिक पूर्वाधारको गुणस्तरिय निर्माण,संरक्षण, सहि उपयोग, पालिकाबाट भएका विकास निर्माणका कामलाई दिगो र जनमुखी बनाउन, प्राकृतिक तथा कृतिम विपत्तिबाट क्षति कम गर्न आवश्यक योजना बनाउन पनि राजमोले आग्रह गरेको छ ।
खेतियोग्य उर्वर जमिनलाई उत्पादन क्षेत्रको रूपमा उपयोग गर्ने, सार्वजनिक, प्राकृतिक, सांस्कृतिक सम्पदाको संरक्षण र पर्यावरण सँगै वातावरणीय स्वच्छताको निम्ति आवश्यक कार्ययोजना बनाउन पनि राजमोले ज्ञापनपत्र मार्फत ध्यान आकर्षण गराएको छ ।