लिवियामा गद्दाफी समर्थक फौजले भिषण गोलाबारी गरेपछि प्रदर्शनकारीहरुको समूह रास लनुफबाट पछि हट्यो

लिवियामा शासक मोहम्मर गद्दाफी विरुद्धको आन्दोलन जारी राखेका विपक्षी फौज मध्य बन्दरगाह रास लनुफबाट पछि हटेका छन्। गद्दाफी प्रति बफादार फौजले भिषण गोलाबारी गरेपछि विपक्षी फौज पछाडि हट्न बाध्य भएका हुन्। त्रिपोली, बेग्रा, वीन जवाद र अज जावियाह लगायतका मुख्य शहर नियन्त्रणमा लिने क्रममा गद्दाफी समर्थक र विपक्षी फौज बीच भिषण भिडन्त जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

 

विपक्षीहरुको नियन्त्रणमा रहेको तेल बन्दरगाह रास लनुफबाट विपक्षी फौज पछि हट्न बाध्य भएको समचारमा उल्लेख छ। सयौं सवारी साधन मार्फत विपक्षी फौज रास लनुफबाट पुर्वी इलाका तर्फ भागेको पनि बताइएको छ। गद्दाफी फौजले मोर्टार र रकेट आक्रमणलाई तिब्र पारेपछि विपक्षी फौज विस्थापित हुन पुगेका हुन्। गद्दाफी फौजले प्राकृतिक ग्यास प्रतिष्ठान, अस्पताल लगायत गैरसैनिकहरुको आवासगृहमा समेत बमबारी गरेको बताइएको छ।

 

त्यसैगरी गद्दाफीका छोरा सेफ अल इस्लामले विद्रोही विरुद्ध सम्पूर्ण सैनिक प्रयोग गर्ने समय आएको चेतावनी दिएका छन्। रोयटर्सलाइ दिएको अन्तर्वार्तामा अस्लामले सरकार विरुद्ध उत्रिएका विपक्षीसँग वार्ताको कुनै सम्भावना नरहेको र कसैसँग कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने चेतावनी पनि दिएका छन्।