पाँचथरमा विस्फोट हुँदा घाइते दुई बालबालिका (दाजु–बहिनी)को मृत्यु

 

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाँडागाउँ टोलमा भएको विस्फोटमा घाइते दुई बालबालिकाको मृत्यु भएको छ ।

विस्फोटमा घाइते भएका स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीय छोरी प्रिन्साको मृत्यु भएको हो । विस्फोटमा घाइते अर्का एक बालकको उपचार भइरहेको छ । माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवनको उपचार भइरहेको हो ।

घाइते भएलगत्तै पाँचथर अस्पताल पुर्‍याइए पनि थप उपचारका लागि उनीहरूलाई झापा रेफर गरिएको थियो । उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति १० बजे इलाम पुर्‍याउँदा बाटोमै र दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापा पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइते बालक पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको छ ।

उनीहरू घरेलु ग्रिनेड पड्केर घाइते भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलमा अर्को एउटा शंकास्पद वस्तु पनि भेटिएकाले बम हो होइन यकिन गरी डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

ग्रिनेड कहिले र कसले राख्यो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विस्फोट भएको घरका धनी आइतराज माओवादी कार्यकर्ता हुन् । त्यो घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्दै आएको छ । बम द्वन्दकालमा लुकाइएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।

-एनपी