बिदामा पनि ओपीडी सेवा सञ्चालन गर्न सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको पत्राचार

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्न सरकारी अस्पतालहरुलाई पत्राचार गरेको छ ।

स्वास्थ्य संस्थाहरुलाई पत्र पठाउँदै मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि ओपीडीसहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयको आन्तरिक प्रशासन शाखाका शाखा अधिकृत विश्वबन्धु रेग्मीले गरेको परिपत्रमा सार्वजनिक बिदामा पनि ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको जनाइएको छ ।

यही भदौ ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्वास्थ्य मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाहको ब्यवस्था मिलाउन निर्देशन गरे बमोजिम मन्त्रालयले अस्पतालहरुलाई परिपत्र गरेको हो ।