विद्राहको तयारी भन्दै प्रशिक्षण

– शोभाखर पन्थी


अर्घाखाँची फाल्गुण-२९ । सरकारको मुख्य घटक एकिकृत नेकपा माओवादीका शीर्ष नेताहरुले केन्द्रमा पटक-पटक विद्रोह र आन्दोलनका कुरा उठाईरहेको समयमा एकिकृत नेकपा माओवादी अर्घाखाँचीका नेताहरुले पनि विद्रोहको तयारीका लागि मानसिकता बनाउन आग्रह गदै पार्टीका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन थालेका छन् ।


 

माओवादीले हालै गुल्मी र अर्घाखाँची जिल्लाको संयुक्त प्रशिक्षण कार्यक्रम सन्धिखर्कमा सम्पन्न गरेपछि संगठन विस्तार र आवश्यक तयारीका लागि भन्दै गाउँ-गाउँमा प्रशिक्षण दिन थालेको हो ।

 

प्रशिक्षणमा मन्तव्य राख्ने बत्ताहरुले अग्रगामी संविधान निर्माणमा अवरोध पुर् याई मुलुकको शान्ती प्रकि्रया विथोल्न यथास्थिती वादी तत्वहरु सकि्रय रहेकाले ढिलोचाडो विद्रोह गर्नुको विकल्प नभएकाले विद्रोहको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

 

अघिल्लो वर्ष निर्णायक भन्दै काठमाण्डौ केन्द्रीत आन्दोलन गरेको माओवादीले अव हुने आन्दोलन साच्चै निर्णायक हुने बताउन थालेको छ । गत वर्षको आन्दोलनलाई उपलब्धी विहीन भन्दै सर्वत्र आलोचना भईरहदा माओवादी अर्घाखाँचीका सेक्रेटरी किशोरले भने त्यो आन्दोलनले प्रतिक्रान्तीकारी षडयन्त्र रोक्न सफल भएको बताए । उनका अनुसार माओवादीले शान्ती र विद्रोह दुवै कुरालाई आत्म सात गरी अघि बढेको छ । शान्ती र संविधानमा षडयन्त्र भए मुलुकमा भिषण युद्ध हुनेछ ।

 

सरकारको मुख्य घटक माओवादीले विद्रोहका कुरा गर्न थाले पछि स्थानीय बासीन्दाहरु अन्यौलमा पर्न थालेका छन् । स्थानीय बासीन्दाहरुले सबै दल मिलेर समयमै संविधान दिनुपर्नेमा जोड दिएका छन् ।



अन्य समाचारहरु