काठमाडौं – संचारमाध्यमहरुले उल्लेख गरे अनुसार कक्षा ८ को जिल्ला स्तरीय परीक्षा अन्तर्गत काठमाडौं जिल्ला शिक्षा कार्यालयले सञ्चालन गरेको परीक्षाकको प्रश्नपत्र बाहिरिएको छ । परीक्षाको अघिल्लो दिन आइतबार अनिवार्य विज्ञान विषयको प्रश्न पत्र बाहिरिएको हो । चाबहिल र कपन क्षेत्रका विद्यार्थीले प्रश्नपत्र आइतबार दिउसो ५० रुपैयाका दरले किनेका छन् ।
सरकारले विद्यार्थीको क्षमता मापनका लागि कक्षा ८ को परीक्षा जिल्ला तहमा लिने गरेको छ । जिल्लाभरका विद्यालयका लागि जिशिकाको परीक्षा समितिले प्रश्न पत्र निर्माण गर्ने गर्छ । सोमबार ७५ पूर्णाङ्कको अनिवार्य विज्ञान विषयको परीक्षा हुदैछ । कपनका एक विद्यार्थीका अनुसार यसअघि भएका तीन विषय अंग्रेजी, नेपाली र गणितमध्ये अंग्रेजी र गणितको पनि प्रश्न पत्र परीक्षा अगावै बाहिरिएको थियो ।
‘मैले कपनको साइबरमा पाएको हुँ’, १३ वटा प्रश्न समावेश विज्ञानको प्रश्नपत्र किनेका उनले भने, ‘५० रुपैयामा किनेको हुँ । हिजो अस्ती पनि यसरीनै विक्री भएको थियो ।’ कपन तथा पुरानो बानेश्वर क्षेत्रमा प्रति प्रश्न ५० देखि १ सय रुपैयामा किनबेच भएको छ । काठमाडौं परीक्षा समितिले भने यसबारे जानकारी नआएको जनाएको छ ।
‘सार्वजानिक भएको रहेछ भने परीक्षा स्थगित हुन्छ’, समितिका एक सदस्यले भने, ‘परीक्षा अगावै प्रश्नपत्र कहाबाट बाहिरियो यो गम्भीर कुरा हो ।’ ती सदस्यका अनुसार प्रश्नपत्र जिम्मा लिएका केन्द्रले एकैपल्ट सबै विषयको प्रश्न बाडेको ठाउबाट र लगेका विद्यालयबाट प्रश्न बाहिरिएको हुन सक्छ । परीक्षा दिउसो ११ बजेदेखि सञ्चालन हुने गरेको छ ।