जापानमा भयङ्कर भूकम्प र सुनामीबाट मृत्यु हुनेहरुको संख्यामा बृद्धि
चैत्र १ गते, २०६७ मा प्रकाशित
LIVE: जापानी प्रहरीले आज जनाएअनुसार, यसै महिनाको एघार तारिख जापानमा गएको भयङ्कर भूकम्प र समुद्री लहर सुनामीमा परी 1833 जनाको मृत्यु हुनुका साथै 2369 जना बेपत्ता भएका छन्।
जापानी सञ्चार-माध्यमबाट जनाइएअनुसार, जापान सरकारले भूकम्प प्रकोपको अवस्थाबारे जानकारी लिन सक्दो प्रयास गर्दैआएको छ। भयङ्कर भूकम्प र सुनामीबाट मृत्यु हुनेहरुको संख्यामा बृद्धि हुने अनुमान गरिएको छ।
जापानको भूकम्प प्रभावित फूकूसिमामा अर्को आणविक संयन्त्रमा विष्फोट भएको छ। विष्फोटका कारण धूवाँ उडेको दृश्यहरु स्थानिय टेलिभिजनले प्रसारण गरेका छन्। विष्फोटबाट एघार जना घाइते भएका छन्। रेडियो एक्टिभ पदार्थको चुहावटको आशंकालाई ध्यानमा राख्दै प्राविधिक एवं वैज्ञानिकहरु आणविक विकिरणको चुहावट फैलन नदिन प्रयासरत रहेको बताइएको छ।