‘हिंसा’ शब्दले संसदमा ‘लफडा’, वैठक नै स्थगित

 

काठमाडौं । प्रमुख प्रतिपक्षी  नेकपा माओवादी केन्द्रका सांसदहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।  बैठक सञ्चालन गर्न सहयोग नगरेको भन्दै सभामुख देवराज घिमिरेले आजको कार्यसूचीमा रहेका बाँकी कार्यक्रमहरू हटाएर बैठक स्थगित गरेका हुन् ।

अब अर्को बैठक भदौ ३० गते दिउँसो १ बजे बस्नेछ । सभामुख घिमिरेले  नेकपा एमाले सांसद योगेश भट्टराईले केही दिनअघि  संसदमा बोल्दाखेरी प्रयोग गरेको हिंसा शब्द असंसदीय भन्ने नरहेको जानकारी गराएपछि माओवादी केन्द्रका सांसदहरूले विरोध जनाएका थिए ।

सभामुखले छलफलका क्रममा उक्त हिंसा भन्ने शब्द असंसदीय नभएको  निष्कर्ष निस्किएपछि संसदको अभिलेखबाट हटाउन आवश्यक नभएको बताएका थिए ।  साथै उनले संसदमा प्रतिकात्मक शब्द प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र बहस हुने गरेकाले शब्द चयनमा सचेतता अपनाउन रुलिङ समेत गराएका थिए । त्यसपछि बैठकमा एमाले र माओवादीका सांसदबीच चर्काचर्की भएको थियो ।

सभामुखको रुलिङप्रति माओवादीले आपत्ति जनायो । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले संविधानमै जनयुद्ध र जनआन्दोलनको व्याख्या गरिएको भन्दै हिंसा भन्ने शब्द संविधान र कानुन विपरित भएको जिकिर गरे। शान्तिप्रक्रिया र कानुनबिपरित शब्द  चयन नगर्न उनले सुझाव दिए ।

त्यसपछि एमाले सांसद रघुजी पन्तले हिंसा भन्ने शब्द असंसदीय नभएको भन्दै सभामुखको रुलिङमा प्रश्न उठाउने ठाउँ नरहेको बताए ।  सभामुखले बैठक अगाडि बढाउन सहयोग गर्न आग्रह गर्दा समेत उनीहरूले नमानेपछि बैठक स्थगित गरिदिए । संसद  बैठकमा एमाले सांसद भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय भन्दै संसदको अभिलेखबाट हटाउन माओवादी केन्द्रका सांसद हितराज पाण्डेलगायतले माग गरेका थिए ।

-एनपी