सहकारी ठगी तथा रकम अपचलन गरी विदेश फरारको खोजबिन गर्न गृहलाई समितिको निर्देशन

 

काठमाण्डौ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीको रकम अपचलन र दुरुपयोग गरी विदेश फरार भएकाहरुको खोजबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

हिजो बसेको समिति बैठकले विदेशमा फरार रहेका गितेन्द्रबाबु राई (जिबी राई), भरत महर्जनसहितका २८ जनाको खोजबिनमा आवश्यक जनशक्ति परिचालन गरी अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको हो ।

विदेशमा फरार भएकाहरुको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा अविलम्व उपलब्ध गराउन बैठकले निर्देशन दिएको समितिका सभापति सूर्य थापाले जानकारी दिनुभयो । समितिले सहकारीको रकम अपचलन गर्ने अभियुक्तलाई बयानको दायरामा ल्याउने प्रयास गरिरहँदा गृह मन्त्रालयले सहकारीको रकम दुरुपयोग गरेर विदेश भागेका अभियुक्त ल्याउन सकेको छैन ।

यसबारे समितिले हिजो गृहमन्त्री रमेश लेखक, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर र प्रहरी नायब महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेको छ ।

छलफलमा गृहमन्त्री लेखकले समितिको निर्देशनअनुसार सहकारी रकम अपचलनमा संलग्न व्यक्तिलाई विदेशबाट नेपाल ल्याउन पहल भएको बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले पनि समितिको निर्देशनअनुसार सहकारी ठगीमा संलग्न अभियुक्तलाई स्वदेश फर्काएर अनुसन्धान गर्ने पहल भइरहेको बताउनुभएको थियो ।

-एनपी