काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेसँग मिसन–२०८४ एकल बहुमत ल्याउने बलियो आधार रहेको दाबी गरेका छन् । आज (शनिबार) एमालेले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
‘अहिले हाम्रो अगाडि मिसन–२०८४ लाई सफल पार्ने, मिसन २०८४ मा एकल बहुमत मज्जाले ल्याउन सक्ने आधारहरू छन् । म त्यो आधारहरूको अहिले धेरै व्याख्या गर्न चाहन्न । आधारहरू छन् हामीसँग । बलिया आधारहरू छन् ।यतिबेलै हामीले आफ्नो सारा सामर्थ्य लगाउनु पर्दछ । मिसन २०८४ लाई सफल पार्नु पर्दछ । मिसन २०८४ सफल भएन भने पनि ५ वर्षमा अर्को आउँछ भन्दा ५ वर्ष भित्र के के हुन्छ ? के परिवर्तन हुन्छ, को को कहाँ के हुन्छ, कसो हुन्छ ? त्यो बेग्लै कुरा हो’, उनले भने ।
मिसन २०८४ लाई सफल पार्नका लागि सम्पूर्ण शक्ति परिचालन गर्न पनि नेता कार्यकर्तालाई उनले निर्देशन दिए । उनले माओवादी केन्द्रको भने आगामी निर्वाचनमा राष्ट्रिय पार्टी मुस्किलले बन्ने दाबी गरे । ‘माओवादीको १९ लाख भोट भोट कहाँ गयो ? गम्भीर प्रश्न, विश्लेषण थियो । मैले हिजो एउटा पत्रिकामा हेरेको थिए। एउटा चुनावमा ३१ लाख भोट आउँछ । अर्को चुनावमा पुग्दाखेरी १८ लाख जति आउँछ । अर्को चुनावमा पुग्दाखेरी १३ लाख आउँछ । अर्को चुनावमा पुग्दाखेरी ११ लाख आउँछ । अब अर्को चुनावमा पुग्दाखेरी ४-५ लाख आउँला कि । राष्ट्रिय पार्टीसम्ममा अडिएला कि । अवस्था त्यो छ ।’ उनले भने ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई खन्चुवा पार्टीको रुपमा चित्रण समेत गरे । ‘नभएका पार्टी जन्मिए । भाडाका भात छैन खै ? भन्दा ती जन्मेका खन्चुवाहरुले खाए होलान् नि । खानै जन्मिएकाहरु छन् । अनि तिनका मुखमा चाहिँ कसरी गाँस पस्यो त । त्यस्तै उस्तै त होला नि ।’ उनले भने । प्रधानमन्त्री ओलीले जनताको हितमा काम गर्ने पार्टीहरुलाई मात्रै नेपाली जनताले विश्वास गर्ने उल्लेख गरे ।
-एनपी