चर्चित वेभसाइट विकिलिक्सले खुलासा गरेका कागजातको विषयलाई लिएर भारतीय संसदमा होहल्ला, प्रधानमन्त्रीको राजिनामा माग

चर्चित वेभसाइट विकिलिक्सले खुलासा गरेका कागजातको विषयलाई लिएर भारतीय संसदमा होहल्ला भएको छ। होहल्लापछि संसदका दुवै सदनको कारवाही स्थगित भएको छ। प्रमुख विपक्षी दल भारतीय जनता पार्टी भाजपाले प्रधानमन्त्री मनमोहन सिंहको राजिनामा माग गरेको छ। विकिलिक्सले सार्वजनिक गरेको भारत सम्बन्धी दस्तावेजमा भारत र अमेरिकाबीच भएको आणविक सम्झौता विवादमा परेपछि सन् दुई हजार आठमा सरकार विरुद्ध परेको अविश्वासको प्रस्तावमाथि मतदानका क्रममा सत्तारुढ भारतीय कङ्ग्रेशले सांसदहरुलाई पैसा दिएको उल्लेख   छ।

 

विपक्षी नेतृ सुष्मा स्वराजले विकिलिक्सको दस्तावेजले सन् दुई हजार आठमा मनमोहन सिंहको सरकार बचाउनका लागि पैसाको खेल भएको स्पष्ट भएको दावी गरेकी छन्। खुलासा पछि सरकारले शासन गर्ने नैतिक अधिकार गुमाएको उनको जिकीर छ। लोकसभामा बोल्दै भारतीय समाजबादी पार्टीका नेता मुलायम सिंहले उनको पार्टीले पनि सरकार बचाउनका लागि महत्वपूर्ण भूमिका खेलेकोले सबैलाई बदनाम गर्नु अघि नै योे विषयमा स्पष्ट हुनु पर्ने माग गरेका छन्। राज्य सभामा बोल्दै भाजपा नेता अरुण जेट्लीले सरकारले राजनीतिक र नैतिक पाप गरेको आरोप लगाएपछि कङग्रेशका सांसदहरुले उनका शब्दमा आपत्ती प्रकट गरेका थिए।

 

भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका नेता सिताराम यचुरीले भोटका लागि सांसदहरुलाई पैसा दिएको भन्ने विषयमा आपराधिक जाँच गर्न माग गरेका छन्। अर्थमन्त्री प्रणब मुखर्जीले भने अखवारमा छापिएको दस्दावेज कुनै पनि अदालतमा मान्य नहुने भएका कारण कारवाही गर्न नसकिने बताएका छन्। विपक्षीहरुले कुनै पनि विषयमा आपत्ती भए अदालतमा जान उनले चुनौती पनि दिए।

 

विकिलिक्सले सार्वजनिक गरेको दस्तावेजका अनुसार कङ्ग्रेशले सरकार बचाउन सरकारको पक्षमा मत हाल्न अजित सिंह नेतृत्वको राष्ट्रिय लोक दलका चार जना सांसदलाई पैसा दिइएको थियो। तर सिंहले आरोप अस्वीकार गरेका छन्। स्मरणीय कुरा के छ भने सन् दुई हजार आठको विवादित ससंदीय मतदानका क्रममा भारतीय जनता पार्टीका तीन सांसदहरुले पैसाले भरिएका बाकस सांसदमा ल्याएर आफूलाई मतदानमा अनुपस्थित रहन पैसा दिइएको दावी गरेका थिए। तर काङग्रेशले भने बदनामको षडयन्त्र भन्दै सो आरोप अस्वीकार गरेको थियो।