दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी

 

काठमाडौँ – दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ।

संविधान दिवसको अवसरमा बिहीबार साँझ भएको कन्सर्टमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी भएको हो। कन्सर्टमा सहभागी दर्शकहरुमध्ये केहीले प्रधानमन्त्री ओलीले बोलिरहँदा नाराबाजी गरेका हुन्।

त्यसक्रममा उनीहरुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा नारा लगाएका थिए।

कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले छोटो मन्तव्य राखेका थिए। त्यस क्रममा केही व्यक्तिहरुले होहल्ला गर्दै नाराबाजी गरेका हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले संविधान दिवसको शुभकामना दिएका थिए। अनौपचारिक पोशाकमा पुगेका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समातेका थिए। उनीसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेललगायत उपस्थित थिए।

यसअघि सुरक्षा स्रोतले प्रधानमन्त्री ओली उक्त कन्सर्टमा सहभागी नहुने बताएको थियो भने उनको सचिवालयले सहभागी हुने जानकारी गराएको थियो।

-एनपी