मौसम: यो वर्ष मनसुन केही दिन लम्बिन सक्ने सम्भावना, दशैँमा पानी पर्ने अनुमान

 

काठमाण्डौ – नेपालमा यो वर्ष मनसुन केही दिन लम्बिन सक्ने मौसमविद्ले अनुमान गरेका छन् । सामान्यतया अक्टोबर २ तारिखमा मनसुन बाहिरिने भए पनि यसपालिको मनसुन केही दिन लम्बिने सम्भावना बढेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले अनुमान गरेका हुन् ।

मौसमविद् प्रतिभा मानन्धरले भोलि दिउँसो पनि आज जस्तै घाम लाग्ने र भोलि बेलुकादेखि भने देशका भेरै ठाउँमा मौसम बद्ली भई केही दिन पानी पर्ने सम्भावना रहेको तर लगातार झरी भने नपर्ने बताउनुभयो ।

सामान्यतया जुन १३ मा भित्रिएर अक्टोबर २ मा बाहिरिनेमा ५ दिन अघिपछि हुने गरेको छ । यसवर्ष दुई दिन अघि भित्रिएको मनसुन झण्डै एकहप्ता ढिलो गरि बाहिरिने सम्भावना बढेकोेले यस वर्ष दशैँमा झरी पर्ने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।

यस वर्ष दशैँको टिका अक्टोबर १२ अर्थात असोज २६ गते परेको छ । मौसमविद् प्रतिभा मानन्धरले ८–१० दिन ढिलो गरेर मनसुन बाहिरिनु स्वभाविक रहेको बताउनुभएको छ ।

भारतबाट मनसुन बाहिरिएपछि नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने क्रम शुरु हुनेमा अहिलेसम्म भारतमा मनसुन बाहिरिएको घोषणा नभएकाले पनि नेपालबाट अझै ढिलो मनसुन बाहिरिने सम्भावना बढेको मौसमविद्ले बताएका छन्  । यस वर्षको मनसुन  तत्काल बाहिरिने सम्भावना  नदेखिएकाले दशैँसम्म पनि पानी पर्ने पूर्वानुमान भएको हो  ।